अख्तियार दुरूपयोग अनुसन्धान आयोगले संस्कृत विषयका प्रमाणपत्र देखाएर विद्युत प्राधिकरणको फोरमेन पदमा कार्यरत विमलदेवी शर्मा विरूद्ध भ्रष्टाचार मुद्दा चलाएको छ।
बुधवार अख्तियारले उनी विरूद्ध ६ महिना देखि १ वर्ष कैद र १० देखि २० हजार रूपैँयासम्म जरिवाना तिराउन माग गर्दै विषेश अदालतमा मुद्दा दायर गरेको हो।
शर्मा जनकपुरको सखुवा वितरण केन्द्र महेन्द्रनगरको फोरमेन पदमा कार्यरत थिइन्। उनले भारतको पटनास्थित बिहार संस्कृत शिक्षा बोर्डबाट मध्यमा (एसएलसी) तहको नक्कली शैक्षिक योग्यताको प्रमाण-पत्र पेश गरी इलेक्ट्रिसियन पदमा नियुक्ति लिएको अख्तियारले जनाएको छ। उनले नियुक्तिमात्र लिइनन् फोरमेन पदमा बढुवा भएकी थिइन्।
'निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर गरेको देखिन आएको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिइ आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ,' अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।