प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालय र मन्त्रीको कामको समीक्षा आजदेखि सुरू गर्ने भएका छन्।
बिहान ११ बजेदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरू हुने समीक्षा कार्यक्रम दिउँसो २ बजेसम्म चल्नेछ।
दुई तिहाइको सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लागेका बेला प्रधानमन्त्री ओलीले मन्त्री र सचिवलाई राखेर मन्त्रालयले पेश गरेको कार्ययोजना अनुसार काम भए/नभएको समीक्षा गर्न लागेका हुन्।
मन्त्रालयहरूले गत असार महिनामा बुझाएको कार्ययोजनाअनुसार काम गरेका छन् कि छैनन् प्रधामन्त्रीले गहिरो गरी समीक्षा गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता सहसचिव विनोदबहादुर कुँवरले जानकारी दिए।
मन्त्रालय र मन्त्रीहरूको काम अनुगमन गर्न प्रधानमन्त्री कार्यालयले सफ्टवयेर पनि प्रयोगमा ल्याएको छ। मन्त्रालयहरूले बुझाएका कार्ययोजना सफ्टवयेरमा राखिएका छन्।
असोज महिनादेखि मन्त्रालयले सफ्टवयेरको प्रयोगबाट पनि अनुगमन थालेको हो।
‘मन्त्रालयले पेश गरेका कार्ययोजना प्रधामन्त्रीज्यूले हेर्नुहुन्छ। मन्त्रालयका मन्त्री र सचिवले मन्त्रालयले गरेका कामको प्रस्तुति दिनुहुन्छ,’ प्रवक्ता कुँवरले सेतोपाटीसँग भने।
शुक्रबारसम्म चल्ने समीक्षाअन्तर्गत आज भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत, सूचना तथा सञ्चार, कृषि तथा पशुपंक्षी, उद्योग वाणिज्य तथा सहरी विकास मन्त्रालयको समीक्षा हुने कुँवरले बताए।
प्रधानमन्त्रीले हरेक महिनाको ७ गते मन्त्री र मन्त्रालयले गरेका कामबारे अनुगमन गर्ने बताइए पनि चार महिनाको कार्यप्रगतिबारे एकै पटक आजदेखि तीन दिनसम्म समीक्षा गर्न लागिएको हो।
समीक्षा प्रधानमन्त्री कार्यालयमा हुने भएको हो। बजेट ल्याइसकेपछि पनि मन्त्रालयहरुले सन्तोषजनक काम गर्न नसकेको भन्दै आलोचना हुने गरेको छ। मन्त्री र मन्त्रालयका कामबारे समीक्षा गरेपछि ढिलासुस्ती गरेको पाइएमा सचेत गराउने पनि प्रधानमन्त्रीको तयारी छ।