राष्ट्रिय जनमोर्चाले अझै पनि मुलुकमा राजतन्त्र पुनर्स्थापना हुने खतरा रहेको औंल्याएको छ।
मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा पार्टीले आफ्नो अवधारणापत्र सार्वजनिक गर्दै यस्तो खतरा औंल्याएको हो।
कार्यक्रममा बोल्दै अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले भारतमा हिन्दूवादीहरूको सरकार भएकोले नेपालमा पनि पूर्वराजा र राजावादीहरू हिन्दू धर्मको नामबाट जनतामा भ्रम फैलाउन अभ्यस्त रहेको गम्भीर आरोप लगाए।
उनले भने,‘अहिले पूर्वराजा र राजवादीहरू नेपालमा धर्मको नाममा राजनीति गरिरहेका छन्। र, भारतको अनुकूलतामा नेपालमा संघीयता आएकोले यो व्यवस्था कमजोर हुन्छ। त्यही कमजोरीमाथि टेकेर राजतन्त्र व्यूँतिने खतरा पनि उत्तिकै छ। संघीयता खारेजी नगरिकन नेपालमा गणतन्त्र सुदृढ हुने अवस्था देखिँदैन।’
कार्यक्रममा नेकपा मसालका प्रवक्ता रामप्रकाश पुरीले सही वस्तुगत अवस्था नभइ जनवादी गणतन्त्र आउने अवस्था नभएको हुँदा तत्काल यही गणतान्त्रिक व्यवस्थालाई नै सुदृढ गर्दै अघि बढ्नुपर्नेमा जोड दिए।
त्यस्तै, कार्यक्रममा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको पोलिटव्यूरो सदस्य दिनेश शर्माले प्रतिगामी खतराविरूद्ध आफूहरू क्रान्तिकारी एकजुट भएर जानुपर्ने बताए।
उनले भने,‘त्यसको लागि संयुक्त कार्यक्रम बनाएर जानुपर्छ।’