माल्दिभ्सको नयाँ सरकारले चीनसँग भएको स्वतन्त्र व्यापार सम्झौता तोड्ने भएको छ। सत्तारूढ गठबन्धनको सबैभन्दा ठूलो दलले संसारकै दोस्रो ठूलो अर्थतन्त्र चीन र सानो अर्थतन्त्र माल्दिभ्सबीचको यो सम्झौता एक पक्षीय भएको बताएको छ।
'माल्दिभ्स र चीनबीचको व्यापार घाटा निकै ठूलो छ, यस्ता दुई पक्षबीच कसैले पनि स्वतन्त्र व्यापार सम्झौता सोच्दैन,' माल्दिभिएन डेमोक्र्याटिक पार्टीका प्रमुख मोहम्मद नसिदले भने, 'चीनले हामीसँग केही पनि किनिरहेको छैन। यो एकपक्षीय सम्झौता हो।'
गत निर्वाचनमा पराजित पूर्वराष्ट्रपति अब्दुल्लाह यमिनले गत डिसेम्बरमा बेइजिङ भ्रमणका बेला चीनसँग स्वतन्त्र व्यापार सम्झौता गरेका थिए। उक्त सम्झौतालाई विपक्षीको विरोधका वावजुद् माल्दिभ्सको संसदले अनुमोदन गरेको थियो।
पूर्वराष्ट्रपतिसमेत रहेका नसिदले यो सम्झौता कार्यान्वयनका लागि गर्नुपर्ने कानुनी संशोधन नयाँ सदनले नगर्ने बताए।
'यो संसदबाट अनुमोदन भयो तर त्यसको कार्यान्वयनका लागि विभिन्न कानुनी परिवर्तन गर्नुपर्नेछ। हामी ती कानुनी परिवर्तन गर्दैनौं,' समाचार संस्था रोयटर्ससँग कुरा गर्दै नसिदले भने।
पूर्वराष्ट्रपति यमिन चीन निकट मानिन्थे। २ महिनाअघि भएको निर्वाचनमा उनी विपक्षी उम्मेदवार इब्राहिम मोहम्मद सलाहसँग पराजित भए। सलाहलाई भारतनिकटका रूपमा हेरिएको छ। गत शनिबार भएको उनको सपथ समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उपस्थित भएका थिए। सात वर्षयता भारतीय प्रधानमन्त्रीले माल्दिभ्सको भ्रमण गरेका थिएनन्।