प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएको छ।
सोमबार पार्टी कार्यालय सानेपामा आयोजित ३ नम्बर प्रदेशस्तरीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै सभापति शेर बहादुर देउवाले वर्तमान सरकार अधिनायकवादतर्फ सोझिएको दाबी गरेका हुन्।
दुई तिहाइको सरकार गठनसँगै मुलुकमा राजनीतिक स्थिरता आएको चर्चा गरिए पनि त्यसको महशुस जनताले गर्न नसकेको भन्दै उनले मुलुकको राजनीति सत्ताउन्मुख हुँदै गएकोमा चिन्ता व्यक्त गरे।
अधिनायवादले प्रजातन्त्रलाई नष्ट गर्ने भन्दै उनले २००७ सालदेखि प्रजातन्त्रको पक्षमा लड्दै आएको पृष्ठभूमिमा फेरि एकपटक प्रजातन्त्र र लोकतन्त्रको संरक्षणका लागि एकजुट हुन कार्यकर्तालाई निर्देशन दिए।
उनले सर्वसत्तावाद उन्मुख सरकारको नियत र अधिनायकवादी चरित्र सदाका लागि अन्त्य गर्न पार्टीले सशक्त प्रतिकार गर्नुपर्नेमा जोड दिए।
प्रजातन्त्र रक्षाका लागि विगतमा भएका गल्ती कमजोरीलाई बिर्सेर एकढिक्का भई अघि बढ्न पनि उनले नेता कार्यर्तालाई निर्देशन दिए।
पार्टीको महासमिति बैठकको सन्दर्भमा राजनीतिक प्रस्ताव मस्यौदा सुझाव संकलनका लागि कांग्रेसले ३ नम्बर प्रदेशका सांसदहरूको भेला बोलाएको हो ।