प्रकाश दाहालको निधन भएको वर्ष दिनमा उनको सम्झनामा प्रज्ञा स्मृति प्रतिष्ठानले निकालेको ‘प्रकाश दाहाल स्मृति स्मारिका’ को विमोचन गरिएको छ।
उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार खुमलटारस्थित दाहाल निवासमा स्मारिका विमोचन गरेका हुन्।
प्रकाशप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रधानमन्त्री ओलीले अल्पायुमै भएको प्रकाशको निधनले पीडा दिइरहेको बताए।
‘पीडा भइरहन्छ। प्रकाशको सम्झना आइरहन्छ। परिवारले संयमता साथ जीवन अघि बढाउनुपर्छ,’ प्रधानमन्त्री ओलीले भने।
प्रचण्डको सचिवालयमा बसेर प्रकाशले गरेको कामको प्रधानमन्त्री ओलीले स्मरण गरेका थिए।
स्मृति सभामा प्रकाशको जीवनीबारे अडियो बजाइएको थियो। २०३८ सालमा जन्मिएका प्रकाश २०५७ सालदेखि प्रचण्डसँगै भूमिगत भएका थिए।
उनको गएको वर्ष मंसिर ३ गते हृदयघातका कारण निधन भएको थियो।