नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालसुलभ कमीकमजोरी छाडेर परिपक्क हुँदै गर्दा छोरा प्रकाशको निधन भएको बताएका छन्।
प्रकाशको निधन भएको वर्ष दिनमा खुमलटारस्थित निवासमा सोमबार आयोजित स्मृति सभा तथा प्रकाश दाहाल स्मृति स्मारिका विमोचन कार्यक्रममा भावुक हुँदै दाहालले छोराको निधनले परिवार, पार्टी र देशलाई अपुरणीय क्षति पुगेको बताए।
‘यो पीडा सामना गर्न सजिलो थिएन। तपाईंहरूको प्रेरणा र प्रेम नभएको भए हाम्रो परिवार विघटन भइसक्थ्यो,’ दाहालले भने, ‘बालसुलभ कमीकमजोरी छाडेर प्रकाश परिपक्क हुँदै गएका थिए। भरोसा गर्न सकिने भएको थियो। तर घटना त घटिहाल्यो।’
शुभचिन्तक र जनताको साथ रहेकोले आफूहरू एक्लो नभएको उनले बताए। प्रकाशको जीवनी र योगदानबारे प्रज्ञा स्मृति प्रतिष्ठानले स्मारिका निकालेको हो।
दाहालका अनुसार प्रकाशको नामबाट ‘प्र’ र छोरी ज्ञानुको नामबाट ‘ज्ञ’ राखेर प्रज्ञा स्मृति प्रतिष्ठान बनाइएको छ।
दाहालकी छोरी ज्ञानुको क्यान्सर र छोरा प्रकाशको ह्रदयघातका कारणले निधन भएको थियो। प्रज्ञा स्मृति प्रतिष्ठानबाट आगामी दिनमा शिक्षा, स्वास्थ्यलगायत दिवंगत छोराछोरीका रुची भएका विषयमा काम गरिने उनले बताए।