नेपाली कांग्रेस केन्द्रिय कार्यसमिति बैठकले भातृ संस्था नेपाल विद्यार्थी संघको वर्तमान कार्यसमितिको म्याद दुई महिना थप गर्ने निर्णय गरेको छ।
आइतबार बेलुकी सकिएको बैठकले नैनसिंह महर नेतृत्वको वर्तमान कार्यसमितिको म्याद दुई महिना थपेको हो। नेविसंघको विधानमा दुई बर्षे कार्यकाल सकिएपछि पनि महाधिबेशन गर्ने प्रयोजनका लागि तीन महिना कार्यकाल थप गर्न सकिने ब्यवस्था छ।
सोही ब्यबस्थालाई कांग्रेसले बाधा अड्काउ फूकाउमार्फत पाँच महिना बनाएको हो। अधिबेशन गराउन पार्टीको निर्देशन समितिले थप गरेको तीन महिना समय आज सकिएको थियो। माघ २ गतेसम्म महर नेतृत्वकै नेविसंघलाई निरन्तरता दिने निर्णय भएको हो।
नेविसंघको म्याद दुई महिना थप भएको नेविसंघ केन्द्रिय सदस्य सुशील भट्टले सेतोपाटीलाई बताए। नेविसंघ सभापति महरले दुई महिना भित्रमा १२ औं महाधिबेशनको तयारी गर्न गाह्रो हुने बताउँदै छ महिना समय थप गर्न आग्रह गरेका थिए।
महामन्त्री कुन्दनराज काफ्लेले आइतबार विज्ञप्ति जारी गर्दै ३२ बर्षे उमेर हद लगाएर १२ औं महाधिबेशनको वातावरण पार्टीले भत्काएको आरोप लगाएका छन्। नेविसंघमा उमेरहद लगाउने हो भने पार्टीमा पनि ७० बर्षे उमेरहद लगाउन उनले चुनौती दिएका छन्।
नेविसंघको म्याद थप गर्ने निर्णयको सभापति शेरबहादुर देउवाइतरका नेताहरुले असहमति जनाएका छन्। बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले महाधिबेशन गराउन तदर्थ समिति बनाएर जान आग्रह गरेका थिए।
केन्द्रिय सदस्य गगन थापा, प्रदीप पौडेललगायत युवा नेताले नेविसंघको नयाँ नेतृत्व महाधिबेशनबाटै हुनुपर्ने भन्दै पार्टीले महाधिबेशनका लागि वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए।