नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने भएको छ।
भातृ संगठन नेपाल विद्यार्थी सघको विघटनको संघारमा पुगेका बेला नेविसंघको यही कार्यसमितिको म्याद थप गर्ने कि तदर्थ समिति बनाएर जाने भन्नेमा छलफल गरी निर्णयमा पुग्न बैठक बस्न लागेको हो।
नेविसंघबारे निर्णय लिन शनिबार पाँच घण्टा अनौपचारिक र केहीबेर औपचारिक बसेको बैठक आजसम्मका लागि स्थगित भएको थियो।
सर्वसहमतिबाटै नेविसंघलाई अघि बढाउन सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता र पदाधिकारीसँग छलफल गरिराखेका छन्। नेविसंघ सभापति नैनसिंह महरका अनुसार अहिलेकै कार्यसमितिको म्याद थप गर्नेबारे पार्टीमा छलफल भइराखेको छ।
‘बाधा अड्काउ फुकाएर दुई महिना म्याद थप गर्नेबारे पार्टीमा छलफल भएको भन्ने सुनिएको छ,’ महरले सेतोपाटीसँग भने, ‘यही कार्यसमितिले १२ औं महाधिवेशन गर्ने हो भने पार्टीले कार्यतालिकासहित अझै केही समय दिओस्।’
महाधिवेशन गराउनका लागि दुई महिना समय कम हुने उनले बताए। क्याम्पसहरूमा हिउँदे बिदा हुने भएकोले अधिवेशन गर्न समस्या हुने महरले बताए।
यही समितिलाई निरन्तरता दिने हो भने कम्तीमा छ महिना थप गर्न नेविसंघले माग गरेको छ।
वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले भने अहिलेको कार्यसमिति विघटन गरी तदर्थ समिति बनाउन सभापति देउवालाई आग्रह गरेका छन्। तदर्थ समितिको नेतृत्व भने पौडेल समूहले दाबी गरेको छ।
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहका नेविसंघ महामन्त्री कुन्दनराज काफ्ले समूहले भने महाधिवेशनको सुनिश्चितताका लागि दबाब दिँदै आएको छ।
नेविसंघ केन्द्रीय सदस्य सुशील भट्टले ‘टिके’ प्रवृत्तिको विरोध गर्दै आएको बताए। तदर्थ समितिबाट संगठन चलाउन नहुने भन्दै उनले अधिवेशनको सुनिश्चिततासहित पार्टीले नेविसंघको वर्तमान कार्यसमितिको समयावधि थप गर्नुपर्ने बताए।
३२ वर्षे उमेरहद, कार्यकाल सकिँदै गर्दा सभापति महरले विजयकुमार गच्छदार नेतृत्वको पार्टीबाट आएका १५ विद्यार्थीलाई कार्यसमितिमा समावेश गर्नु र संघीय विधान निर्माणमा ढिलाइ हुँदा कात्तिक १६ देखि हुने नेविसंघ महाधिवेशन टरेको थियो।
तदर्थ समिति बनाए त्यसले महाधिवेशन गर्न नसक्ने भएकोले वर्तमान समितिकै म्याद थप गर्नुपर्नेमा कांग्रेसका युवा नेताहरूले जोड दिएका छन्। आज नेविसंघको म्याद थप नभए वर्तमान १६५ सदस्यीय कार्यसमिति स्वत: भंग हुनेछ।