राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका महामन्त्री केशव झाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घेराबन्दीमा पर्ने चेतावनी दिएका छन्।
शनिबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै महामन्त्री झाले भने,‘सरकारलाई हामीले दिएको समर्थन अब फिर्ता लिन्छौं। काउन्ट डाउन सुरू भैसक्यो। हामीले छठ सकिएलगत्तै १० दिनको समय दिएका थियौं। आज चार दिन बितिसक्यो। अब ६ दिन बाँकी छ। हामी अहिले बाध्यकारी अवस्थामा छौं। अब समर्थन फिर्ता लिएर अघि बढ्छौं।’
नेता झाले आफूहरूले प्रधानमन्त्री ओलीलाई भेटेरै दसैँअघि समर्थन फिर्ता लिने अल्टिमेटम दिएको स्मरण गराए ।
उनले भने,‘हामीले त उहाँलाई भेटेरै समर्थन फिर्ता लिनेबारे अल्टिमेटम दिएका थियौं । तर, उहाँले दसैँको टीका अगाडि नै संविधान संशोधन प्रक्रिया अघि बढाउँछु भन्नुभयो। हामीले चाडपर्व भएकोले छठ सकिएलगत्तै १० दिनको समय दिएका थियौं । तर, आज चार दिन बितिसक्यो संशोधन प्रक्रिया अघि बढाउने कुनै सुरसार देखाएको छैन।’
सरकार गठन हुँदै गर्दा वर्तमान प्रधानमन्त्री ओलीसँग सिंगो मधेशका जनता आक्रोशित रहेकोबेला आफूहरूले रिस्क मोलेर समर्थन दिएर हातेमालो गरेको झाले सुनाए।
उनले भने,‘ओलीजीको बारेमा सिंगो मधेशमा नकारात्मक अवस्था थियो। हामीले बहुत ठूलो रिस्क लिएर उहाँसँग हातेमालो गर्यौं। किनकी राजनीतिमा कोही पनि स्थायी शत्रु र मित्रु हुँदैन। हामीले विगत ३ वर्षदेखि वार्ता तथा सम्वादमार्फत् संविधान संशोधनबारे समाधान खोज्दै आएका थियौं। तर, अहिलेसम्म संविधान संशोधन भएन।’
सरकार बनेको आज ९ महिना बितिसक्दा पनि सरकारले संविधान संशोधनको लागि आजसम्म ईमानदार प्रयत्न नगरेको उनको आक्रोश छ । उनले भने,‘सरकारले साँच्चिकै ईमानदार भएर प्रयत्न गर्ने हो भने हप्ता दसदिनभित्र संशोधन हुन्छ । तर, सरकारले हामीलाई बारम्बार धोका दियो। अब त हाम्रो पनि धैर्यताको बाँध टुट्यो ।’
मधेशी जनताले आफूहरूलाई संविधान संशोधन नहुने भए आन्दोलनका लागि मधेश झर्न थ्रेट दिइसकेको पनि उनले सुनाए।
‘हामी अहिले बाध्यकारी अवस्थामा छौं’,झाले थपे,‘जनताले संशोधन नहुने हो भने काठमाडौं नबस्नुहोस्, मधेश झर्नुहोस भनेर हामीलाई थ्रेट नै दिइसके ।’
अब हुने आन्दोलनमा आफूहरूलाई २ नम्बर प्रदेशको पनि साथ र समर्थन रहने उनले स्पष्ट पारे । झाले भने,‘अब हुने हाम्रो आन्दोलनमा एउटा प्रदेश सरकार साथमा हुनेछ । यसले केन्द्रीय सरकारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घेराबन्दीमा पार्छ।’