विघटनको संघारमा पुगेको नेपाल विद्यार्थी संघले नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा केहीबेर अघिदेखि नाराबाजी गरिरहेका छन्।
शनिबार दिउँसो २ बजे बोलाइएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरू भएको छैन।
बैठकमा भाग लिन आएका नेताहरूलाई लक्षित गर्दै नेविसंघले नाराबाजी गरेको हो।
महामन्त्री कुन्दनराज काफ्ले समूहका केन्द्रीय सदस्य सुशील भट्ट र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेविसंघका पूर्व केन्द्रीय सदस्य दीपक भट्टराई समूहले नेविसंघको महाधिवेशनको सुनिश्चितताका लागि नाराबाजी गरेका हुन्।
‘नेविसंघका साथीहरूले नै आफ्नो संगठनको नेतृत्व महाधिवेशनबाट गर्न पाउनुपर्छ,’ केन्द्रीय सदस्य भट्टले सेतोपाटीसँग भने, ‘टिके नेतृत्व चाहिन्न।’
पार्टीले नेविसंघ तदर्थ समिति बनाउन लागेको भन्दै नेविसंघले विरोध जनाएको हो। नेविसंघको १२ औं महाधिवेशन पक्षधरले पार्टी नेतृत्वलाई विधिसम्मत महाधिवेशनको वातावरण बनाइदिन माग गर्दै नाराबाजी गरेको भट्टले बताए।
केन्द्रीय समिति बैठकका लागि कांग्रेस केन्द्रीय नेताहरू कार्यालय आउने क्रम सुरू भएको छ। केहीबेरमा बैठक बस्ने र नेविसंघबारे निर्णय लिने कांग्रेसले जनाएको छ।