उत्तर कोरियाले हालसालै विकसित गरिएको अत्याधुनिक हतियारको परीक्षण गरेको छ।
उत्तर कोरियाली सञ्चारमाध्यमले नेता किम जोङ उनको उपस्थितिमा उक्त परीक्षण भएको शुक्रबार जनाएका छन्।
परीक्षण गरिएको हतियार के हो र कस्तो छ भन्नेबारे खुलाइएको छैन। तर यो हतियार निकै रणनैतिक भएको किमका बुवा किम जोङ इलले नै बनाउन भनेको बताइएको छ। त्यसको परीक्षणका बेला किमले आफ्ना बुवालाई सम्झेको उत्तर कोरियाली समाचार संस्था केसिएनएले जनाएको छ।
यो वर्षको सुरूमा दक्षिण कोरियाका राष्ट्रपति मुन जाइ इनसँग सीमावर्ती गाउँ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सिंगापुरमा भएको शिखर वार्तापछि किम पहिलो पटक हतियारको परीक्षणमा उपस्थित भएका हुन्।
दक्षिण कोरिया र अमेरिकासँगका शिखर वार्तामा उत्तर कोरियाले आणविक कार्यक्रम रोक्ने र पूर्णअनआणविकीकरण हुने वचन दिएको थियो।
आफ्नो देशमा भएका आणविक भट्टीमा अन्तर्राष्ट्रिय विज्ञलाई हेर्न दिन पनि ऊ सहमत भएको थियो।