तत्कालीन नेकपा एमाले निकटको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको नामबाट शैक्षिक संस्थाहरूमा चन्दा आतंक व्याप्त बनेको तथ्य फेला परेको छ।
अनेरास्ववियु दाङका अध्यक्ष वीरवल खड्का र सचिव गोपाल रेग्मीले एक विज्ञप्ति प्रकाशित गर्दै संगठनको नाममा ७ लाख रकम मागिएकोप्रति आपत्ति जनाएका छन्।
मागेको जति चन्दा नदिएपछि दाङको घोराहीस्थित राप्ती इञ्जिनियरिङ क्याम्पसमा तालाबन्दी गरिएको भन्दै त्यसको पनि अनेरास्ववियुको जिल्ला नेतृत्वले विरोध जनाएको छ।
अनेरास्ववियु जिल्ला कमिटीको नाम जोडेर संगठनको बदनाम गर्न केही व्यक्ति विशेषले निजी स्वार्थ पूरा गरिरहेको हुँदा शैक्षिक संघ संस्था र बुद्धिजीवीलाई सचेत रहन विज्ञप्तिमार्फत् आग्रह गरिएको छ।
संगठनमा आचरणविपरीतको कार्य गरेको भन्दै यसअघि नै साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएका भनिएका सर्जन परियार र विराज डिसीको समूहले चन्दा आतंक सृजना गरेको विज्ञप्तिमा उल्लेख छ।
साथै, अनेरास्ववियुका साधारण सदस्य समेत नरहने गरी पार्टीले कारबाही गरिसकेका परियार र डिसीलाई पार्टीकै केही नेताहरूले संरक्षण गरेको भन्दै त्यसप्रति विज्ञप्तिमार्फत् रोष प्रकट गरिएको छ।
‘यस घटनाप्रति पार्टीका केही जिम्मेवार व्यक्तिहरू पनि संलग्न भई संरक्षण गरिनुले झनै प्रश्न चिन्ह खडा भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
कारबाहीमा परेका व्यक्तिहरू सच्चिनुको साटो शैक्षिक संस्थामा तालाबन्दी गर्ने र मोटो रकमको बार्गेनिङ गरेको घटनाले संस्थाको बदनाम भएको हुँदा दोषीमाथि थप कारबाहीको माग गरिएको छ। विज्ञप्तिमा व्यक्तिले व्यक्तिगत रूपमा गरेका क्रियाकलापलाई संगठनको नाम जोडी त्यस्ता हर्कत नगर्न सचेत गराएको छ।