परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली जापान भ्रमणमा जाने भएका छन्।
परराष्ट्रमन्त्री ज्ञवाली समकक्षी तारो कोनोको मैत्रीपूर्ण निमन्त्रणा पाँच दिने औपचारिक भ्रमणका लागि आगामी मंसिर १ गते शनिबार जापान जाने भएका हुन्।
बुधबार परराष्ट्र मन्त्रालयका पत्रकार सम्मेलन गरी मन्त्री ज्ञवालीले आफूले जापानको औपचारिक भ्रमण गर्न लागेको जानकारी गराए।
जापान नेपालको मुख्य दाता राष्ट्रमध्ये एक हो। मन्त्री ज्ञवालीले लगानीको थप वातावरण बनाउने विषयमा आफ्नो भ्रमण केन्द्रित हुने पनि बताए।
परराष्ट्रमन्त्री ज्ञवालीले आफ्नो जापान भ्रमणबाट नेपालको पूर्वाधार विकास, जलविद्युत क्षेत्रको विकास र कृषिलाई आधुनिकीकरण गराउन थप लगानीको वातावरण बन्ने विश्वास पनि व्यक्त गरे। जापानले नेपालको पूर्वाधार विकासमा सहयोग गर्दै आएको छ।
मंसिर १ गतेदेखि ५ गतेसम्म जापानको भ्रमणपछि मन्त्री ज्ञवालीले फर्कने क्रममा थाइल्यान्डमा रहेका प्रवासी नेपालीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।