प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विकास र समृद्धिको बाटोमा अघि बढेको बताएका छन्।
प्रधानमन्त्री ओलीले बुधबार चीनका पर्यटन तथा संस्कृति मन्त्री लुओ सुगाङसँगको भेटमा नेपाल विकास र समृद्धिको बाटोमा अघि बढिरहेको बताएका हुन्।
त्यस अवसरमा उनले नेपालको विकासमा चीन सरकारको सहयोग अझै वृद्धि हुने विश्वास पनि व्यक्त गरे।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको शिष्टाचार भेटमा चीनका पर्यटन तथा संस्कृति मन्त्री सुगाङले नेपालको पर्यटन क्षेत्रको विकासका लागि आवश्यक लगानी गर्न आफ्नो सरकार सदैव तयार रहेको बताएका थिए।
त्यसैगरी, उनले नेपालको समृद्धिका लागि यहाँको साँस्कृतिक सम्पदाको संरक्षणमा जोड दिन पनि प्रधानमन्त्री ओलीसँग आग्रह गरेका थिए।
चिनियाँ मन्त्रीले नेपालको विकासका लागि साँस्कृतिक सम्पदाको संरक्षणमा विशेष जोड दिन आग्रह गरेका भेटमा सहभागी प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिए।
चीनका मन्त्री सुगाङले प्रधानमन्त्री ओलीसँगको भेटमा भूकम्पले क्षति पुर्याएको नेपालको साँस्कृतिक सम्पदा विगतको भन्दा पनि उन्नत ढंगले पुनर्निर्माण हुने विश्वास पनि व्यक्त गरेका थिए।
त्यस अवसरमा मन्त्री सुगाङले ‘पर्यटन भ्रमण वर्ष, २०२०’ लाई सफल बनाउन पनि आफ्नो मुलुकले सक्दो सहयोग गर्ने बचन दिएका थिए।
नेपालमा चिनियाँ पर्यटक गत वर्षभन्दा ४८ प्रतिशतले वृद्धि भएको छ।
यसलाई अझै बढाउन यहाँको साँस्कृतिक सम्पदाको संरक्षणमा नेपालले जोड दिनुपर्ने मन्त्री सुगाङको प्रधानमन्त्री ओलीलाई सुझाव थियो।
काठमाडौंमा आयोजित चिनियाँ महोत्सवमा सहभागी हुन मन्त्री सुगाङ नेपाल आएका हुन्।
उनले नेपाल बसाइको क्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीसँग मंगलबार भेट गरी नेपालको पर्यटन विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।