नेपाल एयरलाइन्सले खरिद गरेका वाइडबडी जहाजबारे सुरूदेखि नै उठेका विवाद अहिलेसम्म यथावतै छन्।
सोमबार प्रकाशित अन्नपूर्ण दैनिकले नेपाल एयरलाइन्सले खरिद गरेका दुईमध्ये एउटा जहाज भाडामा लिइएको दाबी गरेको थियो। जबकि, एयरलाइन्स व्यवस्थापनले दुबै जहाज किनिएको बताउँदै आएको छ।
जहाज निर्माता कम्पनी एयरबसले वाइड बडी जहाज हस्तान्तरण गर्दा जारी गरेको प्रेस विज्ञप्तिमा नेपालले लिन लागेका दुइटामध्ये एउटा जहाज पोर्चुगिज कम्पनीसँग ‘लिज'मा लिन लागेको उल्लेख गरेको सो पत्रिकाले दाबी गरेको छ।
यसै सन्दर्भमा हामीले जहाज खरिद प्रक्रिया सुरू गरेर जहाज ल्याउनेसम्मको काममा नेतृत्व गरेका नेपाल वायुसेवा निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारसँग तथ्य के हो भनेर सोधेका थियौं।
जहाज भाडामा लिएको भन्ने कुरा ‘अफवाह’ भएको उनले दाबी गरेका छन्।
‘हामीले किनेको र कम्पनीले बेचेको प्रमाण लालपूर्जा हामीसँग छ,’ उनले सेतोपाटीसँग भने, ‘जहाजको स्वामित्व हस्तान्तरणको प्रमाणपत्र हामीसँग भएपछि एयरबस र हाइफ्लाइले कहाँ के भने हामीसँग सरोकारको कुरा हैन।’
‘हाइफ्लाइ टेण्डरमा सहभागी भएपछि हामीले अर्डर गरेका जहाजका बारेमा एयरबसलाई सोधेर उसले ‘अर्डर' कन्फर्म गरेपछिमात्र खरिद सम्झौताको प्रक्रिया अघि बढाइएको’ उनले दाबी गरे।
पोर्चुगलको हाइफ्लाइ कम्पनीले अर्डर गरेका जहाज आयरल्यान्डमा हाइफ्लाइ एक्स कन्सोर्टियम कम्पनी बनाएर त्यहीमार्फत् जहाज खरिद गरिएको र त्यसका सबै प्रमाण एयरलाइन्ससँग भएकोले यसमा शंका नगर्न कंसाकारले आग्रह गरे।
‘कसले कहाँबाट के समाचार लेख्छ त्यसमा हामीलाई केही भन्नु छैन। जहाज आएका छन् यी आजीवन नेपाल एयरलाइन्सकै हुनेछन्, यसमा सबै ढुक्क हुन आग्रह गर्दछु,’ उनले भने।
२०७३ कात्तिकमा निगमले जहाज खरिद गर्न भन्दै आह्वान गरेको विश्वव्यापी टेन्डरमा अमेरिकी कम्पनी एएआर कर्पोरेशन छनौट भएको थियो। एएआरले ‘स्पेशल पर्पोज भेहिकल’को रुपमा हाइफ्लाइ पोर्चुगलको अगुवाइमा हाइफ्लाइ एक्स आयरल्यान्ड बनाएको थियो।
हाइफ्लाइ पोर्चुगिच, एएआर, जर्मन एभिएसनसहितको उक्त कम्पनीसँग निगमले जहाज खरिद सम्झौता गरेको थियो। टेन्डरमा सहभागी हुँदा नै एएआरले संलग्न कम्पनीहरूसहितको प्रस्ताव हालेको उनको भनाइ छ।
बीचमा धेरै एजेन्ट खडा गरेर कमिसनको खेल भएको भन्दै प्रश्न उठिरहेका छन्। तर, कंसाकारले भने युरोपियन कानुनअनुसार गठन भएको संस्थाले भ्रष्टाचारलाई प्रश्रय दिने भनेर सोच्नै नसकिने दाबी गरेका छन्।
‘एएआरले सुरुमै हाइफ्लाइले अर्डर गरेका जहाज उपलब्ध गराउने भनेको थियो। जुन कुरा हामीले पहिले नै सार्वजनिक गरिसकेका छौं,' उनले भने, ’टेन्डरमा सबैभन्दा कम कबोल गर्ने कम्पनी छनौट भएको हो।’
कम्तीमा एउटा वाइडबडी जहाज एयरलाइन्सको स्वामित्वमा नरहेको भन्ने आशंकाबारे उनले भने, ‘२५ अर्बको सामान बिना स्वामित्व किन्ने मुर्ख हैन म।’
उनले जहाज किनेको कागजपत्र निगमसँग सुरक्षित रहके पनि तर्क गरे।
‘हामीसँग बिल अफ सेल बकाइदा रहेको छ, जुन जहाजको स्वामित्व भएको पुष्टि हो,’ कंसाकारले भने।
उनले सो ‘बिल अफ सेल’को फोटोकपी सेतोपाटीलाई उपलब्ध गराएका छन्।
हेर्नुहोस्
निगमको वाइड बडी जहाजको ब्याज मात्र १ अर्ब २६ करोड
घाम ताप्दै नेपाल एयरलाइन्सका वाइडबडी जहाज
वाइड बडी जहाज किन्नुहुन्न भन्ने खरेललाई नै अब उडाउने जिम्मा