जिल्लाका पुराना वामपन्थी नेता सूर्यबहादुर मास्केको गए राति निधन भएको छ। लामो समयदेखि मधुमेह, उच्च रक्तचापलगायतका समस्याबाट बिरामी परेका उनको उपचारको क्रममा गए राति चितवन मेडिकल कलेजमा निधन भएको हो।
विसं १९९२ मङ्सिरमा भोजपुर जिल्लामा जन्मिएका मास्केले नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको हातबाट १८ वर्षको उमेरमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए। २०१६ सालबाट उनी चितवनमा बसाइँ सरेर आएका हुन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला नेता तेजेन्द्र खड्काका अनुसार उनले विभिन्न आन्दोलनमा महत्वपूर्ण भूमिका निभाएका छन्। लामो समयसम्म उनी पार्टीको सल्लाहकारको रूपमा रहँदै आएका थिए। यससँगै रेडक्रस र शिक्षा क्षेत्रमा समेत उनले योगदान पुर्याएका थिए।
जिल्लाका अधिकांश प्राथमिक सरकारी विद्यालय खोल्न मास्केले योगदान रहेको छ। अहिले ज्येष्ठ कम्युनिष्ट मञ्चको सल्लाहकार रहेका मास्के गोरखामा हुँदा बाल सङ्गठनको जिल्ला सभापति र पछि केन्द्रीय उपाध्यक्ष थिए। चितवनमा सुस्तःमनस्थिति कल्याण संस्थाको संस्थापक बनेका उनको संलग्नता नेपाल रेडक्रस सोसाइटी, नेत्र ज्योति सङ्घ, लायन्स क्लबलगायतका संस्थामा रहेको छ।
स्व मास्केका एक श्रीमती, दुई छोरा र एक छोरी छन्। कान्छा छोरा अमेरिका भएकाले उनी फर्केपछि शनिबार अन्त्येष्टि गरिने भतिजा रोशन मास्केले बताए।