छातीको संक्रमणपछि उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई थप संक्रमण हुन नदिन अस्पतालले भेटघाट गर्नेको संख्या नियन्त्रण गर्ने भएको छ।
प्रधानमन्त्रीलाई भेट्न पूर्वप्रधानमन्त्रीहरू, नेता/कार्यकर्ता र शुभेच्छुक अस्पताल पुग्दा थप संक्रमण हुन सक्ने खतरा हुने भएकोले भेट्न आउनेको संख्या नियन्त्रण गर्न लागिएको हो।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले मंगलबार अपरान्ह जारी गरेको प्रेस विज्ञप्तिमा उपचार गर्ने कक्षमा थप संक्रमण नहोस् भनेर भेट्न आउनेहरूको संख्या नियन्त्रण गर्न लागिएको उल्लेख छ।
प्रधानमन्त्रीलाई उपचार गरिएको कोठामा जान छुट्टै गाउन, पन्जालगायत सामग्रीको व्यवस्था गर्न पनि अस्पताललाई गाह्रो हुने भएकोले भेटघाट गर्ने संख्या घटाउन लागिएको हो।
प्रधानमन्त्री ओली सोमबार बिहान उपचारका लागि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए। सेन्टरले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको स्वास्थ्य स्थिति क्रमिक रूपमा सुधार हुँदै गएको उल्लेख छ।
डाक्टर अरुण सायमी नेतृत्वको तीन सदस्यीय टोलीले प्रधानमन्त्रीको उपचार गरिराखेको छ। प्रधानमन्त्रीलाई अझै एक/दुई दिन अस्पतालमै राखिनेछ।