सर्लाहीको रामनगरमा मंगलबार नेपाल कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार रामनगर गाउँपालिका ४ मा बिहान साढे ८ बजेतिर दुई पार्टीका कार्यकर्ताबीच झडप भएको थियो। झडपका क्रममा चलेको गोली लागेर कांग्रेस कार्यकर्ता ५० वर्षिय रामविलास महतोको ज्यान गएको छ।
घटनालाई नियन्त्रणमा लिन प्रहरीले पनि हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो।
सोमबार नेकपा कार्यकर्ताले रामनगर ४ का वडाअध्यक्ष रामनरेश महतोलाई हातपात गरेको विषयमा झगडा भएको थियो। रामनरेश कांग्रेसबाट निर्वाचित वडाअध्यक्ष हुन्।
झडपमा परी कांग्रेसका ४ जना कार्यकर्ता घाइते भएको घटनास्थलमा रहेका प्रहरी निरीक्षक कुन्दन देवले सेतोपाटीलाई जानकारी दिए। झडपका क्रममा भएको ढुंगामुढाबाट घाइते उनीहरूको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ।
सर्लाहीबाट निर्वाचित कांग्रेस सांसद अमरेशकुमार सिंहले कूटनीतिक राहदानी दुरूपयोगमा दोषी भई सजाय भोगका पूर्वमाओवादी नेता शिवपुजन रायको संलग्नतामा वडाअध्यक्षमाथि आक्रमण भएको आरोप लगाए।
‘आज बिहान पनि वडाअध्यक्षको घरमा आक्रमण भयो। पूर्वमाओवादीहरूले गोली चलाए। त्यही लागेर वडाअध्यक्षका काकाको मृत्यु भएको हो,’ सिंहले भने, ‘वडाअध्यक्षलाई कांग्रेस छोडेर माओवादी प्रवेश गर्न दबाब दिएपछि यो झगडाको बिउ सुरू भएको थियो।’
निरीक्षक देवले भने गोली कसले चलाएको हो भन्ने खुल्न नसकेको बताए।
‘अहिले अवस्था नियन्त्रणमा आइसकेको छ र हामी घटनाको अनुसन्धान गरिरहेका छौं,’ देवले भने।