सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले अब बस्ने स्थायी समिति बैठकमा वर्तमान मन्त्रीहरूको कार्यशैली र मन्त्रीहरू परिवर्तन गर्नेबारे व्यापक छलफल हुने स्पष्ट पारेका छन्।
उनले भने,‘प्रधानमन्त्रीले अब टिम परिवर्तन गर्नुपर्छ। अब बस्ने स्थायी समिति बैठकमा प्रधानमन्त्रीको टिम परिवर्तन हुन्छ। तर, प्रधानमन्त्री परिवर्तन हुँदैन।’
मंगलबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै नेता पौडेलले भने,‘सरकारको काममा प्रभावकारिता भएन। अब योभन्दा अझै प्रभावकारिता हुनुपर्छ। अब बस्ने स्थायी समिति बैठकमा जनताले हामीसँग राखेका गुनासा र टिप्पणीहरू जस्ताको त्यस्तै राख्छौं। अब दसैंलगत्तै वातावरण तात्छ। सरकारले अब आफ्ना गतिविधिहरू बढाउँछ। सरकारले अब काम थाल्नुपर्छ।’
यद्यपि, उनले मान्छे फेरेर काममा प्रभावकारिता नआउने पनि स्पष्ट पारे। पौडेलले भने,‘अनुभवी ‘टिम’ आवश्यक पर्यो भने मन्त्रिमण्डल पुनर्गठन हुन्छ। आवश्यक पर्यो भने मन्त्रीहरूको जिम्मेवारी अदलीबदली हुन्छ।’
उनले मन्त्रीहरूले सुशासनलगायतका काममा तत्काल परिणाम देखाउनुपर्ने भए पनि त्यो देखाउन नसकेकोमा गुनासो पोखे।
उनले भने,‘सुशासन कायम गर्न त सकिन्छ नि, केले रोकेको छ ? मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै सुशासनलगायतका कामहरू कायम गरेर देखाउन सकिन्छ।’
पछिल्लो समय जनताका गुनासाहरू एकपछि अर्को बढ्दै गइरहेकोले सरकार र पार्टी दुवै यस विषयमा अलिक बढी नै गम्भीर बन्नुपर्ने र त्यही अनुसारको समिक्षा गर्नुपर्ने उनको धारणा छ।