यो वर्षको दशैं लगभग सकिन लाग्यो तर सामाजिक सञ्जालमा भाइरल बनेका राष्ट्रपति कार्यलयका केही तस्बिरको चर्चा जारी छ। केही बहालवाला र पूर्वविशिष्ट पदाधिकारीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट टीका ग्रहण गर्दा घुँडा टेकेका वा निहुरिएका तस्बिरबारे विभिन्न कोणबाट टीकाटिप्पणी भइरहेका छन्।
भण्डारीलाई दोस्रो कार्यकालका लागि राष्ट्रपतिको सपथ खुवाएका पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली, पूर्वउपप्रधानमन्त्री वामदेव गौतम, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनलगायतले कुर्सीमा बसेकी राष्ट्रपति भण्डारीसँग घुँडा टेकेर वा अप्ठेरो गरी झुकेर टीका लगाएका तस्बिरमा देखिन्छन्।
उनीहरूभन्दा अगाडि टीका ग्रहण गरेका प्रधानमन्त्री केपी शर्मा ओली र उनकी श्रीमती राधिका शाक्य, उपराष्ट्रपति नन्दबहादुर पुन र मन्त्रीहरूले कुर्सीमै बसेर टीका लगाएका छन्। उनीहरू टीका लगाउन आउँदा दम्पत्तिलाई दुइटा र एक्लैलाई एउटामात्र कुर्सी राख्ने गरिएको छ।
केही मानिसले राष्ट्रपति भण्डारीसँग अगाडि कुर्सीमा बसेरै टीका लगाए। तर अरू मानिसले टीका थाप्ने बेलामा किन ती कुर्सी हटाइए? किन अति नै अशोभनीय देखिने गरी मानिसहरूले घुँडा टेकेर वा धनुष्टंकार निहुरिएर राष्ट्रपति भवनमा टीका लगाउने परिस्थितिको सिर्जना गरियो? केही समय अघिसम्म त्यहाँ भएका कुर्सी किन, कसले हटायो?
राष्ट्रपति कार्यालयले सेनाको संस्कार र व्यवस्थापकीय कमजोरीका कारण बिशिष्ट व्यक्तिहरूले अप्ठेरोसँग टीका लगाउनु परेको बताएको छ।
‘सुरूमा राष्ट्रपतिले सबैलाई कुर्सीमा बसाएरै टिका लगाइदिनुभएको रहेछ। केहीबेरपछि सेनाका मान्छे आएछन्। राष्ट्रपति नेपाली सेनाको परमाधिपति भएकाले उनीहरु राष्ट्रपतिसँग समान आसनमा बसेर टीका लगाउने चलन छैन रै’छ। त्यसका लागि कुर्सी हटाइयो,’ राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले सेतोपाटीसँग भने, ‘त्यहीबेलामा अरूहरू पनि टीका थाप्न आउनुभयो। उहाँहरूलाई त्यहाँ खटिएका सैनिकहरुले तत्काल कुर्सीको व्यवस्था नगर्दा अप्ठेरो देखियो।’
राष्ट्रपतिले टीका लगाइएदिएको भिडियोमा हेर्दा पनि प्रधानसेनापति पूर्णचन्द्र थापा टीका लगाउन आउनुअघि त्यहाँ कुर्सी छ। उनले टीका थाप्ने बेलामा भने सैनिकले कुर्सी हटाए। त्यसपछि थापाले निहुरिएर टीका थापे। उनीपछि पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्रीले पनि त्यसरी नै टीका लगाए।
क्षेत्रीलगत्तै प्रहरी प्रमुख सर्वेन्द्र खनालले पनि निहुरिएरै टिका लगाए। त्यसपछि आएका कतिपय गैरसैनिक व्यक्तिहरूले टीका लगाउँदा पनि त्यहाँ कुर्सी राखिएको देखिन्न।
त्यसपछि आएका नेकपाका नेता वामदेव गौतमले अलिकति निहुरिएर टिका लगाए भने केहीबेरपछि आएका पूर्वप्रधानन्यायाधीश पराजुलीले दुबै घुँडा टेकेर लगाए।
पराजुली केही निहुरिन खोजेको तर अप्ठेरो भएपछि घुँडानै टेकेर टीका लगाएको त्यहाँ उपस्थित एकजनाले सेतोपाटीलाई बताए।
केहीबेर पछि भने फेरि त्यहाँ कुर्सी राखिएको र त्यसपछि सबैले कुर्सीमै बसेर टीका लगाएको उनले जनाए। टीका लगाउने दिन आफू राष्ट्रपति कार्यालयमा नभए पनि पछि सोधेर जानकारी पाएको प्याकुरेलले बताए।
नेपाली सेनाले हरेक गणमा दसैंको टीका लगाउने गर्छ। त्यहाँ आफ्ना कमाण्डरसँग टीका थाप्दा कि उभिएर वा कमाण्डर बसेको भए त्योभन्दा होचो आसनमा बसेर टिका थाप्ने चलन भएको एक सैनिक अधिकृतले सेतोपाटीलाई बताए।
हेर्नुहोस् भिडियोमा
हेर्नुहोस् तस्बिरमा