नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाल प्रदेश इन्चार्च, सह-इन्चार्ज, प्रदेश कमिटी अध्यक्ष र सचिवलाई मान्यता दिन तयार भएका छन्।
नेता नेपालले आफू विदेशमा भएका बेला सचिवालयले इन्चार्ज र अध्यक्ष तोक्ने कार्य भएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। नेकपाले गत असोज ५ गते प्रदेश इन्चार्ज र प्रदेश कमिटीका अध्यक्ष चयन गरेको थियो।
उक्त निर्णयमा नेता नेपालले विरोध गरेका थिए। उनले स्थायी समितिबाट गर्नुपर्ने कार्य सचिवालयबाट भएको भन्दै लिखित रुपमा असन्तुष्टि सचिवालय बैठकमा दर्ता गराएका थिए।
नेता नेपालले राखेको असन्तुष्टि माथि नेकपाको सचिवालय बैठकमा आज छलफल भएको हो। छलफल पछि प्रदेश इन्चार्ज, सह-इन्चार्ज, अध्यक्ष र सचिवलाई निरन्तरता दिने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
'माधव नेपालको पत्र सचिवालयको बैठकमा अगाडि राखेर गम्भीर छलफल भयो', श्रेष्ठले भने, 'छलफल पश्चात माधव नेपालले राख्नु भएको र त्यस सन्दर्भमा अन्य सदस्यले उठाएको विधि पद्दती लगायतका विषयहरुलाइ गम्भीर ध्यान दिदैँ आगामी दिनमा अगाडि बढ्ने साथै यसअघिको निर्णय कार्यान्वयनमा अगाडि बढाउने निर्णय भयो।’
उनले माधव नेपालको पत्रमा रहेको विवरण भने खुलाएनन्। यद्यपी असोज ५ गतेको सचिवलाय बैठकको निर्णयमा असहमति पत्र दर्ता गराएको बताए। उनले जिल्ला कमिटि एकीकरण, जनवर्गिय संगठनको एकीकरण, सरकार र पार्टी सञ्चालन लगायतका अजेण्डामाथि सात गतेको बैठकमा छलफल हुने जानकारी दिए।
स्थायी समिति सदस्यलाई नेपालले सोधे- विवाद बढ्दो छ, कसरी जाने?