नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राज्यले नै कमिसन खाएर बूढीगण्डकी निजी क्षेत्र (चाइना गेजुवा) लाई दिएको आरोप लगाएका छन्।
सोमबार गोरखा सदरमुकाममा नयाँ शक्ति गोरखाले आयोजना गरेको कार्यक्रममा भट्टराईले वर्तमान सरकारले कमिसन खाएर कालो सूचीमा रहेको निजी कम्पनी चाइना गेजुवालाई बूढीगण्डकी निर्माण गर्न दिएको भन्दै सरकारको विरोध गरे।
‘राज्यले नै कमिसन खाएर बूढीगण्डकी ब्ल्याक लिष्टेड निजी कम्पनीलाई दियो’, भट्टराईले भने, ‘बूढीगण्डकी आयोजना भकुण्डोजस्तो बनाइयो। एउटा सरकारले निजीलाई दिन्छ अर्कोले खोस्छ।’ नेपालीहरूकै लगानीमा बनाए मात्रै बूढीगण्डकी निर्माण गर्न सकिने उनको भनाइ छ।
संघीयता कार्यान्वयन, जनताको शान्ति सुरक्षाका क्षेत्रमा नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार असफलजस्तै भएको उनले बताए। ‘सरकारले शिक्षा, स्वास्थ्यका क्षेत्र पनि आसेपासेलाई कमाउने क्षेत्रका रुपमा दिएको छ’, उनले भने, ‘लोकतन्त्रमा जनताले विकल्प खोज्छन्। चुनावबाट अस्वीकृत वामदेव गौतम उपचुनाव लड्छु भन्नु कुबुद्धि हो।’