कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार-हत्या घटनाको छानबिन गर्न बनेको उच्चस्तरीय समितिको प्रतिवेदन सार्वजनिक भएको छ।
गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको उक्त समितिले घटनामा प्रहरीका तर्फबाट सुरूदेखि नै एकपछि अर्को शंकास्पद घटना भएको प्रतिवेदन दिएको छ।
समितिले निर्मला हराएको दिनदेखि अभियुक्त भनी पक्रिएका दीलिपसिंह बिष्टका भित्री लुगाबारे प्रहरीले गरेका काम शंकाको घेरामा रहेको बताएको छ।
३७ पृष्ठ लामो प्रतिवेदनमा घटना भएको दिन राति स्थानीय प्रहरीले निर्मलाकी आमा र आफन्तले उनको खोजी गरिदिन आग्रह गर्दा खोजी गर्नुको साटो 'बिहान ११ बजे हराएकी मान्छेको अहिले खबर गर्ने हो' भनेर झपारेको उल्लेख छ।
प्रतिवेदनअनुसार अर्को दिन निर्मलाको शव उखुबारीमा भेटिँदा प्रहरीले उनको शरिरमा भएका कपडा खोलेर धोयो। प्रहरीले शव भटिएको ठाउँ, उनको साइकल , नोट कपी र साथीको घरबाट ल्याएको अम्बा भेटिएको ठाउँमा अपराधीको पहिचानका लागि कुकुर प्रयोग गरेन। नत शव भेटिएको क्षेत्र आसपासमा तत्काल सुरक्षाकर्मी खटाइयो।
साउन ११ गते तयार भएको मुचुल्कामा निर्मलाका बाबुको औंठाछाप लगाइयो जबकी उनका बाबु यज्ञराज पन्त १२ गतेमात्र भारतबाट नेपाल फर्किएका थिए।
निर्मलाकी साथीकी दिदी बबिता भन्ने अनिता बमले साउन १० गते आफू ट्युसन पढ्न गएको बयान दिएकी छन्। जबकी उनी त्यो दिन ट्युसन पढन् आएको कुनै प्रमाण छैन। बरू उनले आफूसँगै बसेको भनेकी विद्या पन्तले प्रहरीले त्यो दिनको आफ्नो कापी मागेर फोटोकपी गरेर लगेको बताएकी छन्। अनिता र उनका बुवा गएर ट्युसन सेन्टर सञ्चालकसँग त्यो दिन अनिता ट्युसन पढ्न आएकी थिइ भनिदिन आग्रह गरेका छन्।
११ गते घटनास्थलबाट निर्मलाको जिउमा रहेको रातो कलेजी रङको सुरवाल, रातो रङको भेष्ट र खरानी रङको पेन्टीलगायत साइकल, कापी बरामद गरी प्रहरीले लगेको उल्लेख छ। तर ती सामान अहिले प्रहरीसँग छैनन्।
रोशनीको घरबाट फर्कँदा निर्मलाले अम्बा टिपेर ल्याएकी थिइन्। प्रहरीले त्यो अम्बा मुचुल्कामा राखेन। साउन १७ गते उक्त अम्बाको रूख नै काटेर फालियो।
निर्मलाको अन्तेष्टिका लागि नातामा यज्ञराजका साला पर्ने डोटीका तीर्थराज भण्डारीले अग्रसरता लिए। उनले परिवारलाई दबाब पनि दिए। तर अन्तेष्टिपछि उनी सम्पर्कमा आएनन्। प्रहरीले उनको खोजी पनि गरेन।
निर्मलाका बुवालाई जिल्ला प्रहरी कार्यालयमा बोलाएर 'एक जना मान्छे कपडाका टुक्रा र कण्डमसहित पक्राउ परेका छन्, उनीविरूद्ध उजुरी देऊ' भनेर प्रहरीले दबाब दियो। उनले मानेनन्।
प्रहरीले भदौ ४ गते स्थानीय दिलीपसिंह बिष्ट (जसको मानसिक अवस्था ठिक छैन) ले अपराध स्वीकारेको भन्दै सार्वजनिक गर्यो तर पछि उनले आफूलाई चरम यातना दिएर अपराध स्वीकार्न लगाएको बयान दिए।
उनले लगाएको लुगाको मुचुल्काबारे पनि प्रहरीले दुइटा फरक चिठी पठायो। भदौ ८ गते अमित गोल्ड लेखिएको निलो कट्टु १ थान, निलो रङको भित्री शरिरमा लगाउने गन्ञी १ थान र खैरो रङको हाफ पाइन्ट १ थान मुचुल्का भनेर केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशालामा पठाइयो। १० गते अर्को पत्र पठाइयो- सेन्डो गन्जी हुनु पर्नेमा निलो रङको सेन्डो गन्जी हुन गएको र हाफ पाइन्ट हुनु पर्नेमा खैरो रङको हाफ पाइन्ट हुन गएकाले सच्याइदिन अनुरोध गरिन्छ। जबकी बरामदी खानतलासी मुचुल्कामा निलो रङको सेन्डो गन्जी र खैरो रङको जिन्स हाफ पाइन्ट नै बरामद गरिएको देखिन्छ।
समितिले यो घटनामा प्रहरीले चरम लापरबाही गरेको निष्कर्ष निकाल्दै सुरूआती अनुसन्धानमा संलग्न प्रहरीहरूमाथि छानबिन गरी कारबाही गर्न सुझाव दिएको छ।
'प्रहरी उपरीक्षक दिल्लीराज बिष्ट आफ्नो जिम्मेवारी क्षेत्रभित्र गम्भीर प्रकृतिको घटना भएको सूचना प्राप्त हुँदासमेत स्वंय घटनास्थलमा नगएको तथा सो घटनाको थप अनुसन्धानमा समेत निजले निर्वाह गर्नुपर्ने पदीय जिम्मेवारी पूर्णत: पालना गरेको नदेखिँदा निजमाथि छानबिन गरी विभागीय कारबाही गर्नुपर्ने' प्रतिवेदनमा उल्लेख छ।
हेर्नुहोस् प्रतिवेदनको पूर्ण पाठ