संसदको विकास समितिले दूरसञ्चार प्राधिकरणमा दिगम्बर झाको नियुक्तिबारे १५ दिनभित्र जवाफ दिन सरकारलाई निर्देशन दिएको छ।
बिहीबार सिंहदरबारमा बसेको बैठकले झाको नियुक्तिबारे विभिन्न कोणबाट प्रश्न उठिरहेकाले उनको नियुक्तिबारे जवाफ दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो।
बैठकमा कांग्रेस सांसद जिपछिरिङ लामाले झालाई सुरूमा काम गर्न नदिने, पछि हटाउने,त्यसविरूद्ध उनी अदालत जाने तर मुद्दा फिर्ता लिने र फेरि नियुक्त हुने कुराले शंका उब्जिएको र यसबारेमा समितिलाई जानकारी हुनुपर्ने बताएका थिए।
बैठकमा उपस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सरकारले सबै काम कानुनसम्मत तरिकाले गरेको बताए। तर झाको नियुक्तिबारे केही बोलेनन्। झा पनि समिति बैठकमा सहभागी थिए तर उनले पनि केही बोलेनन्।
यसअघि भदौ २१ गतेको मन्त्रिपरिषद बैठकले ४ वर्षका लागि झालाई दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो।