सत्तारुढ दल नेकपा निकट विद्यार्थी संगठनले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई बर्खास्त गर्न माग गरेको छ।
सत्ताढ दलनिकट विद्यार्थी संगठन अनेरास्ववियु अध्यक्ष नविना लामा र अखिल क्रान्तिकारी अध्यक्ष रञ्जित तामाङले बिहीबार गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन–पत्र बुझाउँदै खनाललाई बर्खास्त गर्न माग गरेका हुन्।
जनताको जीउधनको सुरक्षामा सिंगो प्रहरी संरचनालाई प्रभावकारी बनाउन अक्षम रहेको भन्दै प्रहरी प्रमुखलाई तत्काल बर्खास्त गर्न ज्ञापनपत्रमा माग गरिएको छ।
‘बलात्कार हत्याका घटना दिनहुँ भइरहनु, त्यस्ता घटनामा सरकार र त्यसका अंगहरूमाथि गम्भीर प्रश्नहरू उब्जिँदै जानु चिन्ताको विषय हो,’ ज्ञापन–पत्रमा उल्लेख छ।
निर्मला पन्तको बलात्कार र हत्याका मूल कारक बम दिदीबहिनी, एसपी र अन्य प्रहरीमाथि अनुसन्धान केन्द्रित गर्न संगठनले माग गरेको छ। साथै बलात्कार, एसिड प्रहार तथा जघन्य अपराधनमा आजीवन कारबाहीको व्यवस्था गर्न विद्यार्थी संगठनले माग गरेको छ।
अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतका अनुसार ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले निर्मला हत्याकाण्डबारेको प्रतिवेदन छिट्टै सार्वजनिक गरिने बताए।
'निर्मला हत्याकाण्डबारे सत्यतथ्य बुझ्न क्याबिनेटले समिति बनाएको हो। प्रधानमन्त्री स्वदेश फर्केपछि बस्ने क्याबिनेट बैठकबाट नै उक्त समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गरिन्छ', गृहमन्त्रीको भनाइ उद्धृत गर्दै बस्नेतले सेतोपाटीसँग भने।
यस्तै, यातायातका साधनमा बढाइएको भाडा फिर्ता गर्न, बजार अनुगमन, जनजीविकाको पक्षमा परिणाममुखी कार्य गर्न पनि गृहमन्त्रीको ध्यानाकर्षण गराइएको छ।