प्रधानमन्त्री केपी शर्मा ओलीले देश सही बाटोमा, सही ढंगले अघि बढेको दाबी गरेका छन्। ‘देश डुब्नै लाग्यो’ भनी पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले संसदमा दिएको अभिव्यक्तिलाई लक्षित गर्दै ओलीले अमेरिकाबाटै प्रष्टिकरण दिएका छन्।
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका गएका ओलीले पत्रकार सूर्य थापाको युट्युव च्यानल यु स्टार अगेनलाई अन्तर्वार्ता दिँदै भने, ‘म दुई चार दिन संयुक्त राष्ट्र संघतिर आएँ। कतिपय नेताहरूले बोलेको सुनियो, लौ न देश डुब्न लाग्यो, कोही आऊ–बचाऊ। म फर्केर गइहाल्छु, यो ठूलो समस्या हैन।’
ओलीले ‘देश डुब्न लाग्यो’ भनी नेपालले ‘कविता–सबिता तथा केही साहित्य भन्नुभएको होला’ भन्दै भनाइको खण्डन गरे। ‘देश त अत्यन्त सही बाटोमा, सही ढंगले अगाडि बढेको छ। छिमेकी सम्बन्धहरू सुमधुर भएका छन्,’ उनले भने, ‘आर्थिक उन्नतिको दिशामा हामी अघि बढेका छौं।’
पूर्वप्रधानमन्त्री नेपालले बिहीबारको संसद बैठकमा बोल्दै ‘देश डुब्न लागेको’ भन्दै चिन्ता व्यक्त गरेका थिए।
प्रधानमन्त्री ओलीले केही कुण्ठा राखेर त्यस्ता अभिव्यक्ति सार्वजनिक भएको बताए। ‘हाम्रोजस्तो कलिलो लोकतन्त्रमा राम्रो र नराम्रो, राम्रा काम र नराम्रा काम, राम्रा अभिव्यक्ति र नराम्रो अभिव्यक्ति, देश र जनताप्रति समर्पित र आफूप्रति केन्द्रित अभिव्यक्ति छुट्याउन जनतालाई पनि समय लाग्छ। त्यस्ता स्थितिको फाइदा लिएर कसैले हुन सक्छ, केही भनेको होला। यो त राम्रै कुरा हो,’ ओलीले भने।
देशभरि भइरहेका बलात्कार–हत्याका घटनामा अपराधी समात्न सरकारले कोसिस गरिरहेको प्रधानमन्त्रीले बताएका छन्। ‘कहिले–कहिले यस्ता घटना पत्ता लगाउनसमय लाग्छ। त्यसलाई विषय बनाएर यही सरकारले नै यो अपराध गराएको हो जस्तो गर्न खोज्नु विषयविहीनता हो,’ उनले भने।
‘हरेक व्यक्तिका पछाडि प्रहरी हुँदैन’ भन्दै उनले बलात्कार–हत्या घटनामा समयमा कारबाही गर्न नसकेको प्रसंगको पनि खण्डन गरे। ‘सरकारले पत्ता लगाउन सकेन होला, अपराध गर्नेले सूचना दिएको हुँदै। दसी छोडेको हुँदैन,’ ओलीले भने, ‘नेपालमा अपराध पत्ता लगाउन प्रहरी निकै माथि छ, १२ वर्ष अगाडिका अपराध अहिले पत्ता लागिराखेका छन्। अब यसमा बढी चिन्तित हुनुपर्ने छैन। अपराधीलाई कारबाही होस् भन्ने कुरामा सरकार क्रियाशील छ।’
विकास निर्माणमा लापरबाही गर्ने पप्पु कन्स्ट्रक्सनजस्ता कम्पनीलाई काम ‘हामीले काम दिएको हैन’ भन्दै उनी पन्छिएका छन्। ‘पप्पुका भत्किएका पुल, नबनेका पुल, भाँच्चिएका पुल, कच्ची पुल, जे भएका छन्, त्यो हाम्रो समयमा होइन,’ उनले भने, ‘के–के लिने दिने भए, पहिलेकाले जानुन्। के–के कारणले एउटा पनि राम्रो काम भएन, त्यो पहिलेका सरकारले जान्ने कुरा हो। तर, अहिलेको सरकारले सम्बन्धमा छानबिन गरेको छ। खोजीनिती गरेको छ र छानबिनबाट त्रुटिपूर्ण, अपराधपूर्ण देखिएका ठाउँमा कारबाही गर्छ।’
राज्य संयन्त्रलाई विस्तारै सबल बनाउँदै लैजाने उनले बताए। राज्य समाजमा शान्ति सुव्यवस्था, स्तरीय समाजको निर्माण, सुशासन, पारदर्शीता, भ्रष्टाचार नियन्त्रण, जनतालाई डेलीभरी दिने कुरा र विकासका प्रयासहरूलाई सुदृढ ढंगले अगाडि बढाउने उनले बताए। उनले आफ्नो सरकार बनेपछि भ्रष्टाचार रोकिएको र सुशासनका पक्षमा थुप्रै कदम चालिएको दाबी पनि गरे।