जनवादी गणतन्त्र चीनको ६९ औं वार्षिकोत्सव नेपालमा पनि मनाइएको छ। काठमाडौंस्थित चिनियाँ राजदूतावासले शुक्रबार साँझ होटल सोल्टीमा वार्षिकोत्सवको अवसरका कार्यक्रम आयोजना गर्यो।
कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, पुर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल, झलनाथ खनाल, नेपाल सरकारका मन्त्रीहरू, राजनीतिक दलका नेताहरू. कुटनीतिज्ञहरू लगायतको सहभागिता थियो।
कार्यक्रममा बोल्दै नेपालका लागि चिनियाँ राजदूत यू होङले चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा ६९ वर्षमा चीनले उल्लेख्य सफलता हात पारेको बताइन्।
४० वर्षअघि पुनर्संरचना गरिएपछि चीनको आर्थिक वृद्धिदर औसतमा ९.५ प्रतिशत रहेको उल्लेख गर्दै राजदूत होङले चीनले संसारकै ठूलो सामाजिक सुरक्षा नेटवर्क बनाएको बताइन्। यो अवधिमा ७० करोड मानिसलाई गरिबीको रेखामूनिबाट माथि उकासेको पनि उनले बताइन्।
राजदूत होङले ६३ वर्षअघि दौत्यसम्बन्ध कायम भएका नेपाल र चीनबीच आगामी दिनमा बेल्ट एण्ड रोड इनिसियटिभबाट ट्रान्स-हिमालयन बहुपक्षीय सम्बन्ध सञ्जाल बनाउन थप सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।
लामो समयदेखि राजामहाराजाले शासन गरिरहेको चीनलाई माओ त्से तुङ १९४९ अक्टोबर १ मा जनवादी गणतन्त्र घोषणा गरेका थिए।






सबै तस्बिरहरू : निशा भण्डारी/सेतोपाटी