प्रदेश नम्बर सातको राजधानी कैलालीको गोदावरीमा राख्ने प्रस्तावविरूद्ध धनगढीवासी आन्दोलनमा उत्रिएका छन्।
मंगलबार प्रदेश सभामा सुदूरपश्चिम नाम र राजधानी गोदावरी राख्ने प्रस्ताव पेश भएपछि अस्थायी राजधानी रहेको धनगढीमा आन्दोलन सुरू भएको हो। बुधबार प्रदेश सभा भवन घेराउ गरेका आन्दोलनकारीले बिहबार आमहड्ताल गरेका छन्।
कैलाली प्रहरीका अनुसार बिहीबार बिहानैदेखि धनगढीमा सार्वजनिक यातायात, शिक्षण संस्था, बजार पसल, कार्यालय र उद्योगधन्दा बन्द छन्।
झन्डै २० किलोमिटर उत्तर पर्ने गोदावरी नगरपालिका-४ तेघरीमा राजधानी सार्दा धनगढीवासी किन आन्दोलित भए?
सरोकारवालाले यसमा तीन वटा कारण औंल्याएका छन्।
पहिलो, वन र धार्मिक क्षेत्र मासिन्छ।
प्रदेश सभाको समितिले राजधानी प्रस्ताव गरेको ठाउँमा वन क्षेत्र छ। राजधानीका लागि संरचना बनाउँदा झन्डै तीन सय हेक्टरको वन काट्नु पर्छ।
‘भवन बनाउन रूख काट्नुपर्छ। त्यसले नजिकैको गोदावरी नदीको प्राकृतिक प्रणालीमा असर पर्छ,’ विवेकशील साझा पार्टीका सात नम्बर प्रदेश संयोजक गोपाल हमालले सेतोपाटीसँग भने, ‘अर्कातिर त्यहाँनजिकै गोदावरी कुम्भ मेला लाग्छ। हरिद्वारजस्तो धाम यहीँ बनाउने अभियान सुरू भएको छ। राजधानी बनेपछि सहर बस्छ, धार्मिक क्षेत्र रहँदैन।’
तीन वर्षअघि गोदावरीमा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘गोदावरी अमृत महास्नान दिव्य सहस्र कुम्भ दर्शन मेला’ को उद्घाटन गरेकी थिइन्।
अहिले पनि गोदावरी क्षेत्रमा केही बटुकहरू बस्छन्।
धनगढीवासीको दोस्रो प्रश्न धनगढीमा संरचना हुँदाहुँदै किन नयाँ संरचनामा खर्च गर्ने भन्ने हो?
‘धनगढीमा अहिले संरचना छँदै छन्, नयाँ नबनाउञ्जेल केही वर्ष राजधानी यहीँ बस्छ। त्यसका लागि यताका भवनमा पनि खर्च हुन्छ अनि उता नयाँ बनाउँदा पनि अर्बौं रूपैयाँ लाग्छ,’ धनगढी उपमहानगरपालिका प्रमुख नृप वडले भने, ‘धनगढीमा भएका संरचना र ठाउँ प्रयोग नगरेर अर्बौं रकम किन गर्ने भन्ने हाम्रो प्रश्न हो?’
उनले धनगढीबाट सारेर गोदावरीमा नयाँ राजधानी बनाउने प्रस्ताव औचित्य नभई लहडमा आधारमा आएको उनको आरोप छ।
‘भूमाफिया र काठ व्यापारीलाई फाइदा हुने गरी राजधानीको प्रस्ताव आएको छ। जुन धनगढीवासीलाई स्वीकार्य छैन,’ उनले भने।
तेस्रो, प्रस्तावका विषयमा सरोकारवालाहरूसँग छलफल नै नभएको उनीहरूको गुनासो छ।
हमाल र वड दुबैले राजधानीका विषयमा आफूहरूसँग समितिले कुनै छलफल नगरेको बताए।
प्रदेश सातको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता रणबहादुर रावलले आफ्नो पार्टीबाट समितिमा रहेका सदस्यले जंगल गोदावरीको जंगल क्षेत्र मासेर राजधानी बनाउन नहुने धारणा राखे पनि सुनुवाइ नभएको बताए।
‘हामीसँग त वहाँहरूले छलफल गर्नुभएन। समितिमा पनि कांग्रेस सदस्यले भनेको कुरा सुन्नुभएन। कसैको निर्देशनका आधारमा सिफारिस गरिदिनुभयो,’ रावलले भने,‘नेकपाका केन्द्रीय नेताहरूले गोदावरीमा राजधानी राख्न निर्देशन दिए। चित्त नबुझे पनि यहाँका सांसदले त्यही प्रस्ताव गरे।’
कांग्रेसले प्रदेश सभामा प्रस्तावको विरोध गर्ने उनले बताए।
नाम र राजधानी सिफारिस गर्न बनेको समितिका संयोजक सांसद तारा लामाले भने प्रस्तावविरूद्ध विरोधका लागि विरोध भइरहेको बताए।
धनगढीमा भएका भौतिक संरचनाले राजधानी धान्न नसक्ने भएकाले नयाँ ठाउँमा नयाँ संरचना बनाउन प्रस्ताव गरेको उनले बताए।
‘धनगढीमा अहिले एउटै भवनमा मन्त्रीको निवास छ, कार्यालय पनि त्यहीँ छ। कि नयाँ बनाउँदा पैसा खर्च हुन्छ सधैँ यसरी नै बस्ने भन्नुपर्यो नत्र नयाँ संरचना त बनाउनुपर्यो,’ तामाङले सेतोपाटीसँग भने,‘मेरै घरको आँगनमा राजधानी हुनुपर्छ भनेर विरोध गर्नुको केही अर्थ छैन।’
उनले समितिले प्रतिवेदन बनाउँदा सरोकारवाला सबै पक्षसँग छलफल गरेको र आएका सुझावअनुसार नै गोदावरी सिफारिश गरेको जिकिर गरे।
‘वन मासिन्छ भन्ने कुरा आएको छ। त्यो क्षेत्रमा ठूला रूख छैनन्। भवन बनाउने ठाउँमा मात्र रूख काट्ने अन्य ठाउँमा रूख नकाटेर वातावरण मैत्री राजधानी बनाउने सुझाव हामीले दिएका छौं,’ तामाङले भने, ‘धनगढी नै राजधानी भए पनि भोलि महानगर बन्यो भने गोदावरीसँग जोडिइहाल्छ। खुला ठाउँमा राजधानी बनाउँदा हुन्छ भन्ने हाम्रो कुरा हो।’