राज्य व्यवस्था समितिको नवनिर्वाचित सभापति शशि श्रेष्ठले पहिलो बैठकमै पत्रकारलाई प्रवेशमा रोक लगाएकी छन्।
समितिको बैठकमा समसामयिक विषयसहित निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषय उठेको थियो। तर, समिति बैठकमा पत्रकारलाई प्रवेशमा रोक लगाइयो।
संसदीय समितिका ढोका पत्रकारका लागि खुला रहने गरेका थिए। तर, श्रेष्ठले समसामयिक विषयको छलफलमा समेत मर्यादापालक लगाएर पत्रकारलाई रोक लगाएकी हुन्।
फोटो पत्रकार र भिडियो पत्रकारलाई बैठकमा जान रोकिएको हो।
‘म बैठकमा जान खोजेको थिएँ’, भिडियो क्यामेरासहित पुगेका पत्रकार सविन धमलाले सेतोपाटीसँग भने, ‘तपाईंहरूलाई अनुमति छैन भनेर मर्यादापालकले रोके।’
बैठकमा बढ्दो बलात्कारका घटना र निर्मला पन्तको बलात्कारपछि हत्याको विषय समेत उठेको थियो। संघीय समाजवादी फोरमका सांसद रामसहाय यादवले सांसदहरूले हिंसा र बलात्कारको विषयमा छानबिनको माग गरेको बताए।
‘हिंसा र बलात्कारको विषय साझा रूपमा उठ्यो’, उनले भने, ‘अघिल्लो बैठकमा समेत यो विषयले चर्चा पाएको थियो। हामीले बुधबार गृहमन्त्रीलाई डाकेका छौं।’
स्वतन्त्र सांसद छक्कबहादुर लामाले निर्मला पन्तको हत्यापछि बलात्कारको विषयमा सांसदहरूले धारणा राखेको बताए।
‘सत्तापक्ष प्रतिपक्ष सबैले बलात्कारको घटना बढेको र अनुसन्धान हुन नसकेको विषय उठाउनुभयो’, लामाले भने, ‘यस्ता घटनालाई गम्भीर रूपमा लिनुपर्ने र गृहमन्त्रीसँग छलफल गर्ने कुरा भएको छ।’
नेकपाकी सांसद् रेखा शर्माले समितिको कार्यविधि र समसायमिक विषयमा बैठकमा छलफल भएको बताइन्।
समिति सभापति श्रेष्ठलाई सेतोपाटीले सम्पर्क गरे पनि उनको फोन भने उठेन।