प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय गौरवको आयोजना निजगढ विमास्थल निर्माणको समग्र कार्ययोजनाबारे सदनलाई जानकारी गराउन माग गरेको छ।
निजगढ विमानस्थल निर्माणका बारेमा सरकारका मन्त्रीहरूको नै आपसमा विवादित भनाइहरू सार्वजनिक भएको भन्दै कांग्रेसले त्यसका प्रक्रियागत आधारसहितको कार्ययोजनाबारे सदनलाई जानकारी गराउन माग गरेको हो।
राष्ट्रियसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका जितेन्द्र देवले विमानस्थल निर्माणबारे वनमन्त्री र पर्यटन मन्त्रीको विवादास्पद अभिव्यक्ति आइरहेको भन्दै विस्तृत कार्ययोजनासहित सदनलाई स्पष्ट पार्न माग गरे।
साइट क्लिरेन्सको जिम्मा नेपाली सेनालाई दिइसकेका बेला आज आएर बखेडा किन ? भनी उनले प्रश्न गरे।
विभिन्न विषयको बखेडा झिकेर वनमन्त्री र पर्यटन मन्त्रीले आयोजना निर्माणका सम्बन्धमा हल्का कुरा गरेको दाबी उनले गरे।
उनले भने, ‘राष्ट्रिय गौरवको आयोजना अघि बढाउने कि नबढाउने ? राष्ट्रिय गौरवको आयोजना हो भने कति समयमा पार लगाउने यसलाई ? संस्कृति, पर्यटन नागरिक उड्डयन मन्त्री आफैं सदनमा आएर साइट क्लियरेन्सको बारेमा, मोडालिटीको बारेमा, इआएएको रिपोर्टको बारेमा लगायत क्याचमण्ट एरिया कति हुने लगायत सदनलाई जानकारी दिनुपर्छ।’