नेपाली कांग्रेसले पार्टीलाई संघीय संरचनाअनुसार लैजान बनाएको विधान मस्यौदाबारे सुझाव संकलन सुरू गरेको छ।
पार्टी कार्यालय सानेपामा सोमबार सुरू भएको प्रदेश ३ प्रदेशस्तरीय सुझाव संकलन कार्य मंगलबारसम्म जारी रहने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
विधानमाथि सुझाव दिन जिल्ला सभापति, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, भातृ तथा शुभेच्छुक संघसंगठनका प्रमुखहरू भेलामा सहभागी छन्।
सुझाव संकलन कार्यको उद्घाटन गर्दै पार्टी सभापति शेरबहादुर देउवाले पार्टीलाई संविधानअनुसार संघीय ढाँचामा लैजान लागिएको बताए।
सरकारको अधिनायकवाद उन्मुख शैलीलाई विरोध गर्न उनले आग्रह गरे।
कांग्रेसले सातै प्रदेशका १२ ठाउँमा विधानबारे सुझाव संकलन गर्न लागेको हो। प्रदेश ३ कै धुलिखेलमा पनि सुझाव संकलनका लागि भेला डाकिएको छ। दुई दिनसम्म सुझाव संकलन गर्ने र आएका सुझावलाई एकीकृत गरेर केन्द्रीय समितिमा पेश गर्ने विधान संशोधन मस्यौदा समितिका प्रवक्ता रमेश लेखकले बताए।
कांग्रेसले तयार पारेको मस्यौदामा नौ सदस्यीय पदाधिकारी रहने, सभापति मात्रै निर्वाचन गर्ने र पदाधिकारी मनोनित गर्ने वा पदाधिकारीहरू पनि निर्वाचन गर्ने, केन्द्रीय समिति संख्या ८५ बाट बढाएर १३१ पुर्याउने, साधारण र क्रियाशील सदस्यताका अलवा सम्मानित र विशेष सदस्यता वितरण गर्नेजस्ता विषय समेटिएका छन्।
यी विषयमाथि प्रदेशस्तरबाट आएका सुझाव समेटेर केन्द्रीय समितिमा पेश गरी महासमिति बैठकमा प्रस्तुत गर्ने तयारीमा कांग्रेस छ। मंसिर पहिलो साता काठमाडौंमा महासमिति बैठक हुँदैछ। कांग्रेसमा विधिविधान बनाउन सक्ने अधिकार महासमिति भेलालाई छ।