संघीय संसद राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सभापतिमा निरादेवी जैरु निर्विरोध चयन भएकी छन्।
समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले सभापतिमा जैरुलाई निर्विरोध चयन गरेको हो।
एकमात्रै उम्मेदवारी परेकाले जैरुलाई सभापतिमा निर्विरोध निर्वाचित भएको घोषणा गरिएको समितिका जेष्ठ सदस्य राधेश्याम अधिकारीले जानकारी दिए। उनलाई सभापतिमा गणेशप्रसाद ठगुन्नाले प्रस्ताव गरेका थिए भने प्रभु साहले समर्थन गरेका थिए।
समितिका निर्वाचित सभापति जैरु सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रतिनिधिसभाका सांसद हुन्। समितिका प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनका सांसदहरूको प्रतिनिधित्व रहेको छ।