प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले निर्वाचन आयोगलाई निर्वाचनको मिति घोषणा गर्न दिन नसकिने स्पष्ट पारेको छ।
कांग्रेस नेता मिनेन्द्र रिजालले निर्वाचन आयोगलाई निर्वाचनको मिति घोषणा गर्न दिन नसकिने प्रष्टयाएका हुन्।
निर्वाचन सम्पन्न गराउने दायित्व सरकारको भएकाले सरकारले नै निर्वाचनको मिति घोषणा गर्ने कानूनी व्यवस्था नै उचित रहेको उनको तर्क थियो।
आइतबार काठमाडौंमा आयोजित ‘वर्तमान निर्वाचन प्रणाली कति उपयुक्त ?’ विषयक अन्तर संवाद कार्यक्रममा बोल्दै नेता रिजालले निर्वाचन सम्पन्न गराउने सरकार तर निर्वाचनको मिति घोषणा गर्ने निर्वाचन आयोग हुनै नसक्ने दाबी पनि गरे।
निर्वाचन आयोगले निर्वाचनको मिति घोषणा गर्न आफूले पाउनुपर्ने माग गर्दै आएको छ। नेता रिजालले निर्वाचन सम्पन्न गराउने दायित्व सरकार र राजनीतिक पार्टीहरूको बढी हुने भएकाले त्यसमा थप बहसको आवश्यकता तत्कालका लागि नरहेको पनि स्मरण गराए।
कांग्रेस नेता रिजालले निर्वाचनको वैधानिकतामाथि प्रश्न उठाउने काम गर्न नहुने पनि स्पष्ट पारे।