सांसदहरूले राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति तय गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभा अन्तरगतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबारको बैठकमा बोल्दै समितिका सदस्यहरूले राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति बनाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन्।
समितिकी सदस्य पुष्पा भुसाल (गौतम) ले परराष्ट्र सम्बन्धलाई मुलुकको हितमा केन्द्रित गर्न सरकारसँग आग्रह गरिन्।
उनले समितिले मुलुकलाई समृद्ध बनाउने गरी परराष्ट्र नीति बनाउन आवश्यक निर्देशन सरकारलाई दिनुपर्ने आवश्यकता औंल्याइन्।
समितिका अर्का सदस्य भीम रावलले राष्ट्रको सर्वोत्तम हितलाई केन्द्रमा राखेर परराष्ट्र सम्बन्ध विकास गर्नुपर्ने आवश्यकता औंल्याए। उनले समितिले परराष्ट्र नीतिलाई राष्ट्रको हितमा केन्द्रित गर्न सरकारलाई आवश्यक निर्देशन दिनुपर्ने पनि स्मरण गराए।
बैठकमा समितिका नवनिर्वाचित सभापति पवित्रा निरौला (खरेल) ले मुलुकको समृद्धिको मूल आधारको रूपमा विकास गर्ने गरी परराष्ट्र सम्बन्ध विकासका लागि सरकारलाई आवश्यक निर्देशन दिन लागिपर्ने प्रतिवद्धता व्यक्त गरेकी थिइन्।