नेपाल महिला संघले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको वास्तविक दोषीलाई सरकारले यतिका दिनसम्म पनि कानूनी कठघरामा उभ्याउन नसकेको भन्दै असोज ७ गते (भोलि) देशका ७७ वटै जिल्ला प्रशासनमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ।
शनिबार राजधानीमा संघले पत्रकार सम्मेलन गरेर आजका मितिसम्म पनि सरकारले निर्मला हत्याकाण्डको दोषीलाई कानूनी कठघरामा उभ्याउन नसक्नु दुःखद् भएको टिप्पणी गरेको छ।
संघकी अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य उमा रेग्मीले निर्मला हत्याका वास्तविक दोषीलाई सार्वजनिक गर्न सरकारले बहानाबाजी गरिरहेको आरोप लगाइन्।
उनले भनिन्,‘आज यतिका दिन भैसक्यो, तर सरकारले निर्मला हत्याका वास्तविक दोषीलाई सार्वजनिक गर्न सकेको छैन। दोषी सार्वजनिक गर्न सरकारले बहानाबाजी गरिरहेको छ । यो घटना यतिकै डिसमिस हुने खतरा देखिएकोले हामीले भोलि आइतबार दिनको ठीक १२ बजे देशका ७७ वटै जिल्लामा यिनै व्यतिथिकाविरूद्ध विरोध र्याली गर्ने र प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र लेखी र्यालीसहित सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालयमा बुझाउने निर्णय गरेका छौं।’
रेग्मीले गणतन्त्रमा पनि न्याय नपाउने हो भने कहिले पाइन्छ? भन्दै सरकारलाई प्रश्न समेत गरिन्।
उनले भनिन्,‘अहिले मानवता हराएको छ। सरकारको पहिलो प्राथमिकता भनेको नागरिकको जीउ धनको सुरक्षा गर्नुपर्ने हो। तर,अहिले त्यस्तो गरिएको देखिएन।’
बलात्कारीलाई मृत्युदण्ड नै दिनुपर्छ भनेर आफूले संसदमा जोडदारसँग कुरा उठाएको पनि उनले सुनाइन्।
उनले भनिन्,‘बलात्कारीलाई मृत्युदण्ड दिइएन भने झनै यस्ता घटनाहरू भइरहन्छन्। कञ्चनपुर घटनामा जति नै ठूला बडाका मान्छे भए पनि दोषीलाई कारबाही हुनुपर्छ। प्रधानमन्त्रीले पनि कारबाही गरेर छाड्छु भन्नुभएको छ। उहाँले बोलेका कुरा पूरा गर्नुपर्छ ।’
कञ्चनपुर घटनामा प्रहरी प्रशासनको भूमिका र क्षमतामाथि नै ठूलो प्रश्न उठेको उनको आरोप छ।
रेग्मीले भनिन्,‘अब प्रहरीले राम्रो छवि बनाउनको लागि पनि वास्तविक अपराधीलाई पत्ता लगाई कानूनी कठघरामा उभ्याउनुपर्छ।’
मुलुकमा ‘ल एण्ड अर्डर’ कायम राख्न नसक्ने सरकारको औचित्य नहुने भन्दै संसदबाटै आफूले गृहमन्त्रीको राजीनामा मागिसकेको रेग्मीले जनाइन्।