नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का एक शीर्ष नेताले सर्वोच्च अदालतका बरिष्ठतम न्यायाधीश दीपकराज जोशीलाई महाभियोग लगाउने हल्ला मात्रै भएको बताएका छन्।
नेकपाका सचिवालय सदस्य ती नेताले सेतोपाटीसँग भने, ‘महाभियोग लगाउने भन्ने विषय हल्ला मात्रै हो।’
बिहिबार नेकपाका कतिपय सांसदले जोशीलाई महाभियोग लगाउन हस्ताक्षर सुरू भएको बताएका थिए। त्यसपछि जोशीमाथि महाभियोगको चर्चा फैलिएको थियो।
प्रधानन्यायाधीशमा अस्वीकृत भएका जोशी न्यायाधीशका रूपमा अदालतमा मुद्दा हेरिरहेका छन्।
न्यायीक क्षमतामा प्रश्न उठाएर उनलाई अस्वीकृत गर्दासमेत जोशी न्यायालय फर्कँदा नेकपालाई अप्ठेरो परेको छ।
‘यो त हामीलाई चुनौती नै दिएझैं भयो,’ नेकपाका एक सांसदले भने।
नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले जोशीका विषयमा सुनुवाइ समितिमा रहेका सदस्यहरूले छलफल मात्र गरेको बताए। गुरुङ महाभियोगका विषयमा टिप्पणी गर्नबाट पन्छिए। ‘थाहा छैन’, उनले भने।
हिजो हस्ताक्षर गरेको बताउने सांसदहरूले भने जोशीको राजीनामा आउने सर्तमा महाभियोग सरेको दाबी गरेका छन्। जोशीले एक सातामा राजीनामा गर्न सहमति जनाएका कारण महाभियोगको दर्ता प्रक्रिया रोकिएको एक सांसदले बताए।
कानुन मन्त्री भानुभक्त ढकालले पनि जोशीले चाँडै राजीनामा दिने संकेत गरे।
प्रतिनिधि सभाका समिति सभापतिको सपथमा पुगेका मन्त्री ढकालले जोशीलाई लक्षित गर्दै भने ‘त्यताबाट निकास नआए यताबाट हुन्छ।’
स्रोतका अनुसार मन्त्री ढकालले जोशी बरिष्ठतम् न्यायाधीशको हैसियतमा न्यायपरिषद् आए बैठकमा सहभागी नहुने सन्देश प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई दिएका छन्। जोशी हाल सर्वोच्चका बरिष्ठतम् न्यायाधीश हुन्। उनी सोही हैसियतमा न्यायपरिषद् सदस्यसमेत हुन्।
साउन १८ गते संसदीय सनुवाइबाट जोशी प्रधानन्यायाधीशमा अस्वीकृत भएका थिए। एक महिना लामो बिदापछि उनी सर्वोच्च फर्किएका छन्। प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई जोशीले नै सर्वोच्चमा स्वागत गरेका थिए। त्यसको भोलिपल्टदेखि नियमित कामका लागि अदालत फर्किएका उनले २८ गतेदेखि इजलासमा बसेर मुद्दा हेरिरहेका छन्।