प्रतिनिधि सभाका १२ मध्ये १० वटा विषयगत समितिका सभापति सर्वसम्मत चयन भएका छन्। सभापतिमा एक/एक जनाको मात्र उम्मेदवारी परेको थियो। उनीहरुले शुक्रबार सपथग्रहण गरे।
शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकले उनीहरू सर्वसम्मत निर्वाचित भएको घोषणा गरेको हो। समिति नेतृत्वमा अधिकांश महिला सांसद छन्।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अधिकांश समितिको नेतृत्व महिलालाई दिएको हो।
राज्य व्यवस्था समितिको सभापतिमा शशी श्रेष्ठ चयन भइन्। सभापति बनाउनकै लागि श्रेष्ठलाई कानुन न्याय तथा मानवअधिकार समितिबाट राज्य व्यवस्था समितिमा ल्याइएको थियो।
महिला बालबालिका समितिको सभापतिमा सांसद निरु पाल चयन भइन्। जयपुरी घर्ती शिक्षा तथा स्वास्थ्य समितिको सभापतिमा चयन भएकी छन्। घर्तीलाई पनि उद्योग वाणिज्य तथा श्रम समितिबाट शिक्षा तथा स्वास्थ्य समितिमा पुर्याइएको हो।
पूर्वउपसभामुख पूर्णकुमारी सुवेदी कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति भएकी छन्। पवित्रा निरौला खरेल अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिको सभापति भइन्।
कल्याणीकुमारी खड्का विकास समितिको सभापति बनेकी छन्। नेकपाबाट पुरुषतर्फ कृष्णप्रसाद दाहाल अर्थ र कृष्णभक्त पोखरेल कानुन न्याय तथा मानवअधिकार समितिको सभापति चयन भए।
उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता समितिको नेतृत्व संघीय समाजवादी फोरमका विमल श्रीवास्तवले पाएका छन्।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद भरतकुमार शाह सार्वजनिक लेखा समितिको सभापति भए। समितिका सभापतिलाई राज्यमन्त्री सरह गाडी, सचिवालय र सुरक्षाको सुविधा हुन्छ।