संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले काठमाडौंको बसन्तपुर क्षेत्रमा रहेको शिव मन्दिर, आमगछे, गोपीनाथ र जगन्नाथ मन्दिर आफैँ निर्माण गर्न सरकारलाई निर्देशन दिएको छ।
समितिको बैठकले संस्कृति तथा पर्यटन मन्त्रालयलाई यस्ता मन्दिरमा विदेशी कालिगढ समेत प्रयोग नगर्न निर्देशन दिएको हो। ‘सम्भव भएसम्म आफ्नै पैसामा नभए कतिपय तान्त्रिक कुरा भएकाले नेपाली कालिगढ प्रयोग गरेर निर्माण गर्नु उपयुक्त हुन्छ’, समितिको निर्देशनमा भनिएको छ।
समितिका जेष्ठ सदस्य समेत रहेका पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल सहितका सांसदहरुले बसन्तपुर क्षेत्रका सम्पदा र रानीपोखरीको पुर्ननिर्माणबारे गत २४ गते स्थलगत अध्ययन गरेको थियो।
स्थलगत अध्ययनका क्रममा स्थानीयहरुले विदेशीहरुले पुरातात्विक सम्पदाको फोटो खिचेर लगेकोमा आपत्ति प्रकट गरेका थिए। समितिले आफ्नो प्रतिवेदनमा समेत स्थानीयको गुनासोबारे उल्लेख गरेको छ। ‘जाइकाले शिव मन्दिर अनुसन्धान गरि छाडेको तर काम नगरेको साथै अध्ययन अनुसन्धानको क्रममा निषेधित क्षेत्रमा गइ तस्वीर लिएको भनि गुनासो रहेको पाइयो’, समितिको प्रतिवेदनमा भनिएको छ।
संस्कृति तथा पर्यटन मन्त्री रविन्द्र अधिकारीले समितिले प्रतिवेदन दिए कार्ययोजना बनाएर कार्यान्वयन गर्ने बताए। उनले पुर्ननिर्माणमा बजेट अभाव रहेको उल्लेख गरे। भूकम्पका कारण २४ जिल्लाका ७५३ सांस्कृतिक सम्पदामा क्षति पुगेको जसमध्ये १ सय ३३ वटा पूर्व रुपमा ध्वस्त भएकाले निर्माण गर्नुपर्ने अवस्था रहेको बताए। उनले कालिगढ प्रयोगका विषयमा पुरातत्व विभाग अन्तर्गत समुह बनाएर स्थलगत अध्ययन गर्ने उल्लेख गरे।
पूर्व प्रधानमन्त्री नेपाल सम्मिलित स्थलगत प्रतिवेदनमा काठमाडौं महानगरपालिकाको समेत आलोचना गरिएको छ। ‘काठमाडौं महानगरपालिकाले समन्वय नगर्नुका साथै आफ्नो जिम्मेवारी कार्य पनि सुरु नगरेको पाइयो’, प्रतिवेदनमा भनिएको छ।
समितिले रानीपोखरीको बीचमा रहेको मन्दिर निर्माणका लागि पिलर बनाउँदा र भत्काउँदा एक करोड चौसठ्ठी लाख खर्च भएको र त्यसको भुक्तानी महानगरपालिकाले गर्न बाँकी रहेको प्रतिवेदनमा उल्लेख गरेको छ। साथै उक्त मन्दिर तिहार अघि सम्पन्न भैसक्ने अवस्था देखिएको उल्लेख छ।