राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता लक्ष्मणलाल कर्णले संविधान संशोधन नभएसम्म आफ्नो पार्टीले संविधान दिवसलाई कालो दिवसको रूपमा मनाइरहने बताएका छन्।
मंगलबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै नेता कर्णले भने,‘हामीले यसअघि पनि दुई पटक कालो दिवस मनाइसकेका छौं। भोलि पनि हामी कालो दिवस नै मनाउँछौं। देशैभरि विभिन्न जिल्लामा हामी प्रदर्शन गर्छौं र बेलुका केही समय ‘ब्ल्याक–आउट’ गर्ने कार्यक्रम छ।’
साक्षात्कारमा बोल्दै उनले भोलि संविधान दिवसलाई कालो दिवस मनाउनको लागि आफ्नो पार्टीका सबै नेताहरू जिल्ला–जिल्ला प्रस्थान गरिसकेको पनि जानकारी दिए।
उनले भने,‘केही नेताहरू बाँकी हुनुहुन्छ, उहाँहरू पनि आज बेलुकासम्म पुग्नुहुन्छ।’
संविधान जारी हुँदासम्म सयौं जनताले सहादत प्राप्त गरेको र अहिले पनि सयौंको संख्यामा आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरू घाइते, अपांग भएर अस्पतालमा बस्न बाध्य भएको बताउँदै उनले भने,‘अहिले पनि सयौं जनामाथि सरकारले झूटो मुद्दा चलाएको छ । त्यसकारण हामीले संविधान दिवसलाई कालो दिवसको रूपमा मनाएका हौं।’
यद्यपी उनले आफूहरू सुरूदेखि नै संविधान संशोधनको माग गरेको भए पनि संविधान पुनर्लेखन नै गर्न भनेर माग नगरेको स्पष्ट पारे।
उनले थपे,‘हामीले संविधान पुनर्लेखन गर्नुपर्छ भनेर कहिल्यै पनि भनेनौं।’
नेता कर्णले सरकारले अहिलेसम्म पनि संविधान संशोधनको लागि कुनै होमवर्क नै नगरेको गुनासो पोखे ।
उनले भने,‘तपाईंहरू हेर्दै जानुहोस्, भोलि हजारौं जनता जुलुसमा उत्रिन्छन्। संविधानलाई लिएर लाखौं व्यक्तिहरू असन्तुष्ट छन्। जहिलेसम्म हाम्रो माग पूरा हुँदैन । वा संविधान संशोधन हुँदैन, तबसम्म हामी कालो दिवस मनाइरहन्छौं।’