नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले स्वार्थी समूह र गिरोहले सरकार चलाइरहेको आरोप लगाएका छन्।
दुई तिहाइ सरकारले जनताको पक्षमा एउटै काम नगरेको उनको भनाइ छ। गणेशमान सिंहको २१ औं स्मृति दिवसमा मंगलबार शोभाभगवतीमा आयोजित कार्यक्रममा पत्रकारहरुसँग नेता सिंहले भने, 'स्वार्थी समूह र व्यक्तिगत इन्ट्रेष्टमा सरकार चलेको छ। जनताले दु:ख पाए।'
सरकारबाट सत्तारुढ दलकै नेता संतुष्ट नरहेको उनले दाबी गरे। दशैंको मुखमा पेट्रोलियम पदार्थको भाउ बढाएर सरकारले जनहित विपरीत काम गरेको उनको आरोप थियो। 'सरकारको टिप्पणी गर्न नहुने भइसक्यो। अरिंगाल झैं झम्टिन प्रधानमन्त्रीजी नै भन्नुहुन्छ। पत्रकारलाई हतकडी लगाउनुहुन्छ। यो राम्रो भएन', उनले भने।
कार्यक्रममा पूर्वसभामुख दमनाथ ढुंगाना, राष्ट्रियसभामा विपक्षी दलका नेता सुरेन्द्रराज पाण्डे, केन्द्रिय सदस्य नवीन्द्रराज जोशी, राजेन्द्र केसी, बद्री पाण्डेलगायत नेताहरुले गणेशमानको शालिकमा माल्यार्पण पनि गरेका थिए।