प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका आमाबुवालाई न्याय दिलाउन कुनै कसर बाँकी नराख्ने बताएका छन्।
सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर निर्मलाका बाबुआमाले ज्ञापनपत्र बुझाएका थिए।
उनीहरूसँग प्रधानमन्त्री ओलीले ४५ मिनेट कुरा गरेको भेटमा उपस्थित एक सहभागीले बताए।
उनका अनुसार, भेटमा निर्मला पन्तकी आमाले आफूहरू न्याय माग्नका लागि काठमाडौं आएको बताएकी थिइन्। उनले घरबाट निस्केदेखि अहिलेसम्मका घटना विवरण प्रधानमन्त्रीलाई सुनाइन्।
त्यसपछि प्रधानमन्त्रीले निर्मलाको हत्याका दोषीहरू जोसुकै भएपनि पक्राउ गरी कारबाही गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताएका हुन्।
'निर्मला तपाईंहरूकी मात्र छोरी हैनन् हाम्री पनि छोरी हुन्, हामी उनका हत्यारा खोज्न सरकारले कुनै कसर बाँकी राख्ने छैन। हामीले यो घटनामा लापरबाही गर्नेलाई पनि कारबाही गरेका छौं। तपाईंहरू ढुक्क हुनुहोस,' प्रधानमन्त्रीले भनेका थिए।
घटनाको ५३ औं दिनमा पनि निर्मलालाई बलात्कारपछि हत्या गर्ने दोषी को हुन्? भन्ने पत्ता लाग्न सकेको छैन। घटना छानबिन गर्न सरकारले दुइटा समिति गठन गरिसकेको छ।
अघिल्लो समितिले दिएको प्रतिवेदनका आधारमा प्रारम्भिक छानबिनमा संलग्न प्रहरी अधिकारीहरूलाई सरकारले निलम्बन गरेको छ।