भोलि (सोमबार)देखि नेपाल र उत्तरी छिमेकी चीनबीच संयुक्त सैन्य अभ्यास हुने भएको छ।
दक्षिणी पश्चिमी चिनियाँ प्रान्त सिचुवानको राजधानी छेन्दुमा हुने सैन्य अभ्यासमा नेपाली सेनाका महासेनानीको नेतृत्वमा १६ सैनिक सहभागी हुनेछन्। उनीहरू सोमबार नै छेन्दु प्रस्थान गर्ने सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीले जानकारी दिए।
नेपाली सेनाले चिनियाँ जनमुक्ति सेनासँग संयुक्त अभ्यास गर्न लागेको यो दोस्रो पटक हो। 'सगरमाथा फ्रेन्डसिप'को दोस्रो संस्करणको अभ्यास १२ दिनसम्म चल्नेछ।
‘प्रतिआतंकवाद र विपद् व्यवस्थापनमा अभ्यास केन्द्रीत हुनेछ,’ प्रवक्ता भण्डारीले भने।
नेपाल र चीनबीच २०७४ वैशाखमा पहिलो पटक संयुक्त सैन्य अभ्यास भएको थियो।
भारतीय सेनासँग हुने 'सूर्यकिरण' सैन्य अभ्यासको तेह्रौं संस्करण गत जेठमा भारतको पिथौरागढमा भएको थियो।