नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले वर्तमान सरकारबाट लोकतन्त्रमा प्रहार हुन थालेको बताएका छन्। उनले नेकपा सरकार सर्वसत्तावाद हुँदै अधिनायकवादतर्फ अघि बढिरहेको आरोप लगाए।
मोरङ-काठमाडौं सम्पर्क समितिद्वारा शुक्रबार राजधानीमा आयोजित विचार गोष्ठीमा कोइरालाले भने, ‘उपचार गरिरहेको डाक्टर पक्राउ गर्ने, लेख्यो भनेर पत्रकार पक्राउ गर्ने, यो लोकतन्त्रमाथि प्रहार हो।’
कम्युनिस्ट ‘अधिनायकवाद’ हावी भइरहेका बेला नेपाली कांग्रेसको भूमिका कस्तो हुने सोच्नुपर्ने अवस्था आएको उनले बताए। ‘हामी चुनाव हारेका छौं, संगठन कमजोर भएका बेला हारेका छौं,’ उनले भने, ‘पहिले हार स्वीकारौं, अनि मात्र पार्टी सुधार्न सकिन्छ।’
एमाले–माओवादी मिलेर कांग्रेस हारेको भनाइ आफू नस्वीकार्ने कोइरालाले बताए। ‘नेपाली कांग्रेस एकढिक्का भयो भने नेकपालाई साइजमा ल्याउन गर्न सकिन्छ भनेर साथीहरूले भन्नुभयो। हो सकिन्छ तर त्यसको निम्ति विधान, विधि टेकेर जानुपर्छ।’
कोइरालाले विधान पन्छाउने कार्यले पार्टीमा सुधार नआउने बताए। ‘तदर्थवादमा नेपाली कांग्रेस चल्न थाल्यो भने कार्यकर्तामा ऊर्जा आउँदैन,’ उनले भने, ‘विधान संशोधन समितिले काम गर्दैछ, हामीले सुझाव दिनुपर्छ। समयमै अधिवेशन गरेर अघि बढे कांग्रेसले लोकतन्त्रलाई बचाएर लान्छ।’
गुट–उपगुटका कारण पार्टी कमजोर भएको कुरा आफूले नमान्ने उनले बताए। ‘तपाईंहरूलाई लागेको छ होला, म गुटलाई धेरै दोष दिन्नँ। पार्टीमा फरक विचार हुन्छ, गुट हुन्छ, स्वीकार गर्न सक्नुपर्छ,’ उनले भने, ‘बिपी, गणेशमान, सुवर्णशमशेर, किसुनजी, गिरिजाबाबु हुँदा पनि गुट थियो।’
कार्यक्रममा नेताहरूले विचार राख्ने क्रम जारी छ। सभापति शेरबहादुर देउवा, पूर्वमहामन्त्री प्रकाशमान सिंहलगायत नेताहरू गोष्ठीमा सहभागी छन्।