राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको लापरवाहीले शुक्रबार राष्ट्रिय सभा बैठक प्रभावित भएको छ। संघीय संसद असोज ३ गते भित्र मौलिक हक सम्बन्धि विधेयकहरु पारित गर्नुपर्ने दबाबमा भएपनि तिमिल्सिनाको लापरवाहीले मौलिक हक सम्बन्धि विधेयक समितिमा पुग्न सकेनन्।
बालबालिकाको हक सम्बन्धि विधेयक र अपराध पीडित संरक्षण विधेयक आज विधायन समितिमा पठाउने कार्यसूची थियो।
शुक्रबार ३ बजेका लागि डाकिएको बैठक तिमिल्सिनाले ८ मिनेटमै उठेर हिँडेका थिए। तिमिल्सिनाले बैठकको जिम्मा अध्यक्ष मण्डलका सदस्य परशुराम मेघी गुरुङलाई छाडेका थिए। उनी मुस्ताङमा एक विद्यालयको बार्षिकउत्सवमा सहभागि हुन बैठक छाडेर हिँडेका हुन्। गुरुङले १५ मिनेट बैठक चलाएका थिए।
तिमिल्सिनाले अलपत्र छाडेको बैठक राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहालले पहिलो अन्त्य गरेकी थिइन्। राष्ट्रिय सभा नियमावलीमा संसदको बैठक सभामुखले सुरु र अन्त्य गर्ने उल्लेख छ। तर बैठक सुरु गरेपनि तिमिल्सिना बैठक अन्त्य गर्न उपस्थित भएनन्।
शुक्रबार राष्ट्रिय सभाका दुई बैठक बस्ने तय थियो। मौलिक हक सम्बन्धि विधेयकहरु संशोधनको ७२ घण्टे समय ५ बजे सकिदैँ थिए। सकिएपछि समितिमा पठाउन दोश्रो बैठक राखिएको थियो। त्यसै अनुसार साँझ ५ बजेर १५ मिनेटका लागि दाहालले अर्को बैठकको समय तय गरिन्।
तर दोश्रो बैठक भने बस्न सकेन। प्रतिपक्षी दल नेपाली कांग्रेसले नियमावलीमा बैठकको सुरुवात र अन्त्य अध्यक्षले गर्नुपर्ने व्यवस्था देखायो।
सत्तारुढ नेपकाले उपाध्यक्ष दाहालले पहिलो बैठक अन्त्य गरेको अवस्थामा दोश्रो बैठक सञ्चालन गर्न सक्ने दावी गर्यो। सभाध्यक्षको कार्य सञ्चालन गर्ने अधिकार अध्यक्ष मण्डलका सदस्यलाई समेत भएकाले उपाध्यक्षले बैठक सञ्चालन गर्न सक्ने तर्क सत्तापक्षको थियो। तर प्रतिपक्षी नेपाली कांग्रेसले सभाध्यक्षको लापरवाहीमा प्रश्न उठायो।
तिमिल्सिनाको अनुपस्थिति भएकै कारण बैठक सूचना टाँस मार्फत् २६ गते सम्मका लागि स्थगित भयो।