सरकारले संयुक्त राष्ट्र संघ शान्ति स्थापनार्थ साझा घोषणा पत्रलाई समर्थन गर्ने निर्णय गरेको छ।
बिहिबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले संयुक्त राष्ट्र संघ शान्ति स्थापनार्थ साझा घोषणा पत्रलाई समर्थन गर्ने निर्णय गरेको हो।
बैठकले शुक्रबार निजामती दिवसको अवसर पारेर पुरस्कृत गर्ने उत्कृष्ट कर्मचारीहरुको नामलाई पनि टुंगो लगाएको युवा तथा खलकुद मन्त्री जगत विश्वकर्माले जानकारी दिए।
मन्त्रिपरिषद बैठकले नेपालको ऊर्जा क्षमता तथा नवीकरणीय ऊर्जा प्रवद्र्धन दोस्रो चरणको कार्यक्रमका लागि जर्मन सरकारबाट प्राप्त हुने ३१ मिलियम युरो करिब ४ अर्ब नौं करोड अनुदान सहायता लिने प्रस्ताव पनि स्वीकृत गरेको छ। उक्त रकम पोखरा–लेखनाथ २ सय २० केभी विद्युत प्रशारण लाईन निर्माणका लागि सो बजेट खर्च गर्ने निर्णय पनि गरिएको मन्त्री विश्वकर्माले बताए।
त्यसैगरी सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धि एकीकृत कार्यविधि २०७५ पनि स्वीकृत गरेको छ।
बैठकले धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर ८ डुमरियामा निर्मित अस्पताल भवनमा प्राथमिक तहको १५ शैयाको अस्पताल स्थापना गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ। सो अस्पतालको नाम शहीद सुर्यनाथ राम यादव स्मृति अस्पताल राखिने छ ।
मुक्त हलिया पुर्नस्थापना समस्या समाधान समिति र मुक्त कमैया पुनस्र्थापना आयोगलाई कायमै राख्ने र यसै आर्थिक वर्ष भित्र मुक्त हलिया पुर्नस्थापना र मुक्त कमैया पुर्नस्थापना सम्बन्धी सबै समस्या समाधान गर्ने निर्णय पनि बैठकले गरेको छ ।
हेर्नुहोस् भिडियोमा