नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन्।
गृह मन्त्रालयले लेनिन विष्टलाई विदेश जान रोकेको विषयमा सिंहले प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन्। तर, उनले विष्टको नाम भने लिएनन्। ‘राहदानी बाहकलाई रोकटोक नगरी जान दिन अनुरोध गर्दछ। साथै, मद्दत गरिदिन परराष्ट्र मन्त्रालय अनुरोध गर्दछ लेखिएको छ’, सिंहले भने, ‘एउटा मन्त्रालयले बेरोकटोक जान दिनुपर्छ भन्छ। गृहले रोक्छ कारण देखाउँछ – सरकारी अनुमति नभएको। के हरेक व्यक्तिले अनुमति लिनुपर्छ।’
सिंहले सरकार निरंकुशतातर्फ अगाडि बढेको बताए।
‘सरकारले संविधान उल्लंघन गर्छ भने म यही रोष्टमबाट प्रधानमन्त्रीको राजीनामा माग्छु’, सिंहले भने, ‘हामीले राजा बनाएको होइन। प्रधानमन्त्री बनाएका छौं। मन्त्री बनाएका छौं।’
उनले बर्दियामा प्रहरी नियन्त्रणमा रहेका राममनोहर यादवले मृत्यु भएको विषयमा न्यायिक छानबिन समिति गठनको माग गरे।
‘मन्त्रीलाई कालो झण्डा देखाउँदा सरकार कस्टडीमा लिन्छ। कस्टडी भनेको जिम्मेवारी हो’, सिंहले भने, ‘जिम्मा लिएर हत्या गरेपछि। प्रहरीलाई कारबाही भएन। तुरुन्त न्यायिक छानबिन समिति गठन गरोस्।’
उनले मधेसी समुदायको मान्छे मारिएका कारण संसद मौन बसेको समेत आरोप लगाए।