गृहमन्त्री रामबहादुर थापाले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई महिला हिंसा र बलात्कारका घटनाको न्यूनिकरण गर्न तत्कालै विशेष योजना बनाउन निर्देशन दिएका छन्।
बिहिबार गृहमन्त्रालयमा नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई बोलाएर मन्त्री थापाले पछिल्लो समय बलात्कारका घटना बढेको भन्दै घृणित कार्य रोक्न विशेष योजना बनाउन आवश्यक रहेको सुझाएका हुन्।
गृहमन्त्री थापाले यस्ता घटनामा मिलापत्र गराउन खोज्नु पनि अपराध भएको भन्दै यस्तो काम गर्नेलाई समेत कारबाहीको दायरामा ल्याउन प्रहरी महानिरीक्षकलाई निर्देशन दिएका छन्।
महिला हिंसा र बलात्कारका घटनाका उजुरीमा लापरबाही नगरी गम्भीरतापूवर्क कारबाही अघि बढाउनसमेत उनले प्रहरीलाई निर्देशन दिए।
गृहमन्त्री थापाले कञ्चनपुरको बालिका मृत्यु घटनाको सत्य, तथ्य बाहिर ल्याउन गठित छानबिन समितिलाई सहयोग पुग्नेगरी सबैपक्षले काम गर्नुपर्ने बताए।
अनियन्त्रित मदिराको विक्रिवितरण र लागूपदार्थको सेवन लगायतका कारणले बलत्कार र महिला हिंसाको घटना बढेको ठहर गर्दै यस विरूद्ध गृह मन्त्रालयले अभियान सुरु गर्ने भएको छ।
गृहले केही दिनभित्रै देशव्यापी रुपमा ‘लागूपदार्थ निषेध र मदिरा नियन्त्रण अभियान’ सञ्चालन गर्ने भएको छ। मदिराको व्यवस्थित विक्री वितरण र सेवनसम्बन्धी प्रस्ताव गृहले मन्त्रिपरिषदमा लैजान तयार पारेको छ ।
सो प्रस्ताव पारित भए लगत्तै भदौ मसान्तभित्रै यो अभियान घोषणा गर्ने गृहको तयारी छ ।
इन्टरनेटमार्फत अश्लिलता बढेको कारण पनि बलात्कारका घटना बढेकोले यसको नियमनको बारेमा समेत गृहले छलफल सुरु गरेको छ।