प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेकलाई क्षेत्रीय विकास र सहयोग तथा पारस्परिकताका लागि प्रभावकारी ढंगले अगाडि बढाउनुपर्ने बताएका छन्।
प्रतिनिधि सभा बैठकमा भदौ १४ र १५ गते काठमाडौंमा हुन लागेको बिमस्टेकको शिखर सम्मेलनबारे जानकारी गराउँदै ओलीले बिमस्टेकलाई प्रभावकारी संगठनका रुपमा लैजानुपर्ने बताए। उनले बिमस्टेकको ढिला गरि सचिवालय स्थापना भएको उल्लेख गर्दै क्रियाशिल बनाउनुपर्ने बताए। ‘सक्रिय तथा प्रभावकारी सचिवालय अपेक्षा गरिएको छ’, ओलीले भने, ‘बडापत्र निर्माणको प्रक्रिया अगाडि बढाइने छ।’
बिमस्टेकको हालसम्म बडापत्र समेत तयार भएको छैन। स्थापनाको बीस वर्ष पुग्दा सन् २०१४ मा मात्र ढाकामा बिमस्टेकको सचिवालय स्थापना भएको छ।
प्रधानमन्त्री ओलीले बिमस्टेकले नेपाललाई दक्षिणपूर्वी एसियामा आर्थिक एकीकररण, यातायात सम्पर्क सञ्जालमार्फत् दक्षीणपूर्वी मुलुकसँग पहुँच विस्तारमा सहयोग गर्ने अपेक्षा व्यक्त गरे। उनले नेपालले बिमस्टेकका १६ बिषय मध्ये गरिबी निवारण सम्बन्धि विषयमा नेतृत्व गरिरहेको उल्लेख गरे।
संसद बैठकमा ओलीले सार्कको अध्यक्ष राष्ट्र भए पनि जटिलताका कारण शिखर सम्मेलन आयोजना गर्न नसकिएको बताए। तर उनले कस्ता जटिलता भन्ने खुलाएनन्।
‘सार्कको हामी अध्यक्ष छौं। सार्क सदस्य राष्ट्रहरुको बीचमा कतिपय जटिलताले त्यसको शिखर सम्मेलन निर्धारित समयमा हुन सकेको छैन। बिलम्ब भैराखेको छ’, ओलीले भने, ‘सार्कका अरु अङ्ग सक्रिय छन्। तर बैठक बिलम्ब भैराखेको छ। त्यसको शिखर सम्मेलन आयोजना होस् भन्ने प्रयासमा छौँ।’
प्रधानमन्त्री ओलीले नेपालले बिमस्टेक सम्मेलन आयोजना गर्ने जिम्मेवारी पाएपनि ढिलागरि हुन लागेको बताए। ‘सन् २०१४ देखि नेपाल अधयक्ष रहँदै आएको छ। भूकम्प, संविधान निर्माण र निर्वाचन आदिको व्यस्तता रह्यो। त्यसैले २० वर्षको अवधिमा चौथो मात्रै सम्मेलन आयोजना गरेका छौँ।’
ओलीले बिमस्टेकका दौरान श्रीलङ्का र म्यानमारका राष्ट्रपतिले औपचारिक रुपमा नेपालको भ्रमण गर्न लागेको बताए। त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले द्विपक्षीय साझेरदारीका कार्यक्रममा सहभागि हुने बताए।
ओलीले शिखर सम्मेलन बिमस्टेकलाई वास्तवमै प्रभावकारी बनाउन अपेक्षा व्यक्त गरे। ‘वातारणको क्षेत्रमा देखिएको परिवर्तनलाई कसरी सामना गर्ने अथवा हाम्रा विकासका चुनौतीहरुलाइ कसर सामना गर्ने र दिगो विकास लक्ष्य कसरी प्राप्त गर्ने भन्ने कुराहरुमा केन्द्रीत भएर गरिबी निवारण, केनेक्टिभिटी र पिपुल टू पिपुल रिलेसनमा साझेदारी अगाडि बढाउनेमा उपयोगी हुने विश्वास गरेका छौँ’, ओलीको भनाई थियो।
हेर्नुहोस् भिडियो LIVE