राष्ट्रियसभाले तीन वटा विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने भएको छ।
राष्ट्रियसभाको मंगलबार बसेको बैठकले अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी पहिलो संशोधन विधेयक, २०७५, वातावरण संरक्षण पहिलो संशोधन विधेयक, २०७५ र संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण पहिलो संशोधन विधेयक, २०७५ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो।
बैठकमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा मगरले अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी पहिलो संशोधन विधेयक, २०७५ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा लैजाने प्रस्ताव पेश गरेकी थिइन्।
त्यसैगरी वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले वातावरण संरक्षण पहिलो संशोधन विधेयक, २०७५ र संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण पहिलो संशोधन विधेयक, २०७५ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव पेश गरेका थिए। राष्ट्रिय सभाको अर्को बैठक भदौ १२ गते मंगलबार बिहान ११ बजेका लागि बोलाइएको छ।